Breaking News
सरकार र पार्टीबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइनः बाबुराम भट्टराई

काठमाडौं,कात्तिक २० –
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्तारूढ दल र सरकारबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन्।
रवि र बालेनको फोटो फेसबुकमा राख्दै भट्टराईले नेपालको राजनीतिक इतिहासमा दलभित्रका आन्तरिक विवाद, गुटबन्दी र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई ठूलो क्षति पुर्याएको स्मरण गराएका छन्।
उनले विगतमा नेपाली कांग्रेस र नेकपा एमाले तथा माओवादी केन्द्रभित्र देखिएका गुटगत संघर्ष र विभाजनका उदाहरणसमेत प्रस्तुत गरेका छन्। २००७ सालपछि कांग्रेसमा बीपी कोइराला र मातृका समूहबीचको विवाद, २०४७ पछि कांग्रेसभित्रको ७४ र ३६ समूह, २०५२ पछि एमालेमा महाकाली सन्धिको पक्ष र विपक्षमा देखिएको विवाद तथा २०६४ पछि माओवादीभित्र संविधान निर्माण र जनविद्रोहको पक्षमा देखिएको अन्तरसंघर्षले देशलाई ठूलो नोक्सानी पुर्याएको उनको भनाइ छ।
भट्टराईले इतिहासका यस्ता घटनाबाट नयाँ पुस्ताका राजनीतिक नेतृत्वले पाठ सिक्नुपर्ने बताएका छन्।
‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्’ भन्ने भनाइ उद्धृत गर्दै उनले जेन–जी विद्रोहको जगमा बनेको युवा बहुल पार्टी र सरकारले विगतका गल्ती नदोहोर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्नसमेत नयाँ राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन्।
























