राजनीति

बेलहियामा पर्यटक सूचना केन्द्र व्यवस्थित गरिने, एकद्वार प्रणाली छिट्टै लागू गर्ने मन्त्रीद्वयको प्रतिबद्धता

०
Banner

काठमाडौं , कात्तिक २०

नेपाल प्रवेश गर्ने प्रमुख स्थलमार्ग बेलहिया नाकामा पर्यटकले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन प्रदेश सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्ने भएको छ । लुम्बिनी प्रदेशका दुई मन्त्रीले बेलहियास्थित पर्यटक सूचना केन्द्रलाई व्यवस्थित बनाउँदै पर्यटकको आवागमन सहज र व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु र शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोषकुमार पाण्डेले बेलहियास्थित पर्यटक सूचना केन्द्रको अवलोकन तथा निरीक्षण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

निरीक्षणका क्रममा मन्त्रीद्वयले नेपाल भित्रिने पर्यटकले सीमा प्रवेशकै बिन्दुमा सहज, छरितो र प्रभावकारी सेवा पाउनुपर्ने बताए । पर्यटकका लागि नेपाल प्रवेश गर्ने पहिलो बिन्दु नै देशको पहिचान र आतिथ्य सत्कारको सुरुआती अनुभव हुने भएकाले सूचना केन्द्रलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारुले बेलहिया नाका नेपाल प्रवेश गर्ने पर्यटकका लागि पहिलो सम्पर्क बिन्दु भएकाले यहाँको सेवा व्यवस्थित, सहज र पर्यटकमैत्री हुनुपर्नेमा जोड दिए । नेपाल भित्रिने पर्यटकले प्रवेश बिन्दुमै राम्रो अनुभव गर्न सके त्यसले समग्र नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । पर्यटक सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा आवश्यक सेवा–सुविधा थप गर्न प्रदेश सरकारका तर्फबाट सहयोग र सहजीकरण गरिने उनले प्रतिबद्धता जनाए ।

यस्तै मन्त्री पाण्डेले बेलहिया नाकामा देखिँदै आएको चेकजाँच तथा प्रशासनिक झन्झट अन्त्य गर्न एकद्वार प्रणाली छिट्टै कार्यान्वयनमा ल्याइने बताए । त्यसका लागि अब धेरै महिना कुर्नु नपर्ने उनको भनाइ थियो ।

प्रस्तावित व्यवस्थाअनुसार साविककै झै नेपाल प्रवेश गर्ने पर्यटक तथा उनीहरुका सवारीसाधनको जाँच एकै स्थानमा गरिनेछ । त्यसका लागि सशस्त्र प्रहरी बल एपीएफ, नेपाल प्रहरी, भन्सार कार्यालय र ट्राफिक प्रहरीको संयुक्त उपस्थिति रहने व्यवस्था मिलाइनेछ ।

सबै निकायबाट आवश्यक जाँच पूरा भएपछि पर्यटकलाई विशेष ‘कार्ड’ उपलब्ध गराइनेछ । उक्त कार्ड सवारीसाधनमा टाँस्न वा आफूसँगै राख्न सकिनेछ । त्यसपछि बाटोमा विभिन्न स्थानमा रोकेर पुनः जाँच गर्ने झन्झट हट्ने र कार्डकै आधारमा आवश्यक प्रक्रिया पूरा भएको पुष्टि गर्न सकिने मन्त्री पाण्डेको भनाइ छ ।

एकद्वार प्रणालीले विशेषगरी भारतीय पर्यटक तथा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ । यसले सीमा क्षेत्रमा हुने अनावश्यक रोकावट घटाउनुका साथै पर्यटकको समय बचत र नेपालको पर्यटनमैत्री छवि निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री थारु र मन्त्री पाण्डेले पर्यटक सूचना केन्द्रको सेवा विस्तार तथा व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र नीतिगत प्रबन्ध मिलाउने प्रतिबद्धता पनि जनाएका छन् ।

लुम्बिनी, गौतमबुद्ध जन्मस्थल र आसपासका पर्यटकीय गन्तव्यमा आउने विदेशी पर्यटकका लागि बेलहिया प्रमुख प्रवेशद्वार हो । तर, सीमा प्रवेशपछि सूचना, सहजीकरण र विभिन्न निकायका प्रक्रियामा पर्यटकले झन्झट व्यहोर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सूचना केन्द्रको प्रभावकारी सञ्चालन र एकद्वार प्रणालीको कार्यान्वयनले लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>