राजनीति
स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल र जापानबीच छलफल, सहयोगलाई निरन्तरता दिने जापानी राजदूतको प्रतिबद्धता

काठमाडौं,कात्तिक १८-
स्वास्थ्य क्षेत्रमा आपसी सहकार्य र सहयोग विस्तार गर्ने विषयमा नेपाल र जापानबीच छलफल भएको छ।
आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानी राजदूत माएदा तोरु (H.E. Mr. Maeda Toru) ले मन्त्रालयमा औपचारिक शिष्टाचार भेटघाट गर्नुभएको हो।
भेटका क्रममा नेपाल र जापानबीचको घनिष्ठ सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले पुर्याउँदै आएको सहयोगको उहाँले प्रशंसा गर्नुभयो।
भेटमा जापानी राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी सहकार्यलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
नेपाल र जापानबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई स्वास्थ्य क्षेत्रको सहकार्यमार्फत थप विस्तार गर्ने विषयमा भेटवार्ता केन्द्रित रहेको थियो।
























