देश/प्रदेश
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

बनेपा (काभ्रे), कात्तिक १८-
तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त हुनुहुन्छ । परदेशमा १७ वर्ष बिताएर फर्किनुभएका उहाँले पाँच रोपनीबाट सुरु गर्नुभएको फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ ।
नौ वर्षअघि स्वदेश फर्किनुभएका घिमिरेले सुरुका दुई–तीन वर्ष कुनै काम गर्नुभएन । तर, लामो समय काम गरेर बिताउनुभएका उहाँलाई घरमै निस्क्रिय भएर बस्न सहज भएन । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचसहित उहाँले कृषि व्यवसाय रोज्नुभयो । यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो ।
पाँच वर्षअघि कृषि व्यवसाय सुरु गर्नुभएका घिमिरेले सुरुका दुई वर्ष गोलभेँडा र काँक्रोखेती गर्नुभयो । तरकारीखेतीबाट अनुभव बटुल्नुभएका उहाँले पछि फूलखेतीको सम्भावना देख्नुभयो । दसैँ र तिहारजस्ता पर्वमा सयपत्री फूलको माग हुने भएकाले त्यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने सोचअनुसार पाँच रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरेको उहाँले बताउनुभयो ।
पहिलो वर्षको उत्पादन र बिक्रीको अनुभवले उहाँलाई यस व्यवसायमा अघि बढ्न थप हौसला मिल्यो । सुरुमा सीमित क्षेत्रफलमा गरिएको खेतीलाई विस्तार गर्दै अहिले १४ रोपनीमा पुयाउनुभएको छ । उहाँले जापानी र थाई जातका हाइब्रिड सयपत्री फूल लगाउनुभएको छ ।
फूलखेतीका लागि बिरुवा रोप्ने काम साउन महिनादेखि सुरु हुन्छ । रोपेको करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने घिमिरेले बताउनुभयो । दसैँ र तिहारमा फूलको खपत बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर खेती व्यवस्थापन गर्दै आउनुभएको छ ।
फूलको मौसम सकिएपछि उहाँ खेतबारी खाली राख्नुहुन्न । सयपत्री फूलको बिक्रीको समय सकिएपछि अन्य सागसब्जी तथा तरकारी लगाउने गर्नुहुन्छ । एउटै खेतीमा मात्र निर्भर नभई वर्षभरि जमिनको उपयोग गर्ने उहाँको अभ्यास छ ।
घिमिरेको फूलखेतीले उहाँलाई मात्र होइन, अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ । खेतीमा १० जना कामदार संलग्न छन् । फूल रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने र टिप्ने काममा उनीहरूको सहयोग लिने गरिएको छ । व्यावसायिक खेती विस्तारसँगै कामदारको आवश्यकता पनि बढेको उहाँले बताउनुभयो ।
गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गर्नुभएका घिमिरेले बिक्रीबाट खर्च कटाउनुअघि करिब रु १८ लाख आम्दानी गर्नुभएको थियो । यस वर्ष पनि फूलको उत्पादन राम्रो भएको उहाँले बताउनुभयो । तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उहाँको अनुभव छ । बजारको माग र मूल्यले किसानको आम्दानी निर्धारण गर्ने भएकाले उहाँ अहिले फूल बिक्रीको उचित समय पर्खिरहनुभएको छ ।
यस वर्ष तिहार केही ढिला परेकाले फूलको बिक्री र मूल्यमा असर पर्न सक्ने उहाँको अनुमान छ । उत्पादन राम्रो भए पनि तत्कालै सबै फूल बिक्री नगरी तिहारको मुखमा मूल्य बढ्ने आशासहित बजारको अवस्था पर्खिरहेको उहाँले बताउनुभयो । यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब रु २५० पुग्ने उहाँको अपेक्षा छ ।
“उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो मूल्य आउँछ कि भन्ने आशा छ”, किसान घिमिरेले भन्नुभयो । उहाँका अनुसार किसानका लागि उत्पादन गर्नु एउटा पक्ष हो भने उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नु अर्को चुनौती हो ।
फूलको उत्पादन राम्रो भए पनि बजारमा माग र मूल्य कस्तो हुन्छ भन्ने कुरा पहिल्यै निश्चित गर्न सकिँदैन । पर्वको समयमा एकैपटक धेरै किसानको उत्पादन बजारमा पुग्ने भएकाले मूल्यमा उतारचढाव हुनसक्ने जोखिम रहने उहाँको अनुभव छ । किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित हुनसके व्यवसायलाई थप व्यवस्थित बनाउन सहज हुने उहाँले बताउनुभयो ।
स्वदेशमै फूल उत्पादन भइरहेका बेला विदेशबाट आयात हुने गरेकोप्रति उहाँको असन्तुष्टि छ । नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको बजार विस्तार हुने र किसानलाई थप प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो । विशेषगरी तिहारका बेला स्वदेशी फूलको माग र खपत बढाउन सके स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने घिमिरेको अपेक्षा छ ।
“कहिलेकाहीँ सन्तुष्ट छु, कहिलेकाहीँ असन्तुष्ट पनि हुन्छु । नेपालका किसानलाई सम्बन्धित निकायले पर्याप्त ध्यान दिनुपर्छ । स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो”, उहाँले भन्नुभयो ।
विदेशमा लामो समय बिताएर फर्किनुभएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायमा रमाउनुभएको छ । उहाँका लागि फूलखेती आम्दानीको माध्यममात्र बनेको छैन, काम गर्ने इच्छा र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्ने अवसरसमेत बनेको छ । फूलको मौसममा सयपत्री र अन्य समयमा सागसब्जी तथा तरकारी उत्पादन गर्दै उहाँले वर्षभरि खेतबारीलाई व्यस्त राख्नुभएको छ ।
कृषि व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका घिमिरे अहिले उत्पादनसँगै बजारको अवस्थालाई पनि उत्तिकै महत्त्व दिनुहुन्छ । मिहिनेत गरेर उत्पादन गरेको फूलले उचित मूल्य पाउनसके किसानलाई यस क्षेत्रमा टिकिरहन सहज हुने उहाँको विश्वास छ । स्वदेशमै उत्पादन र बजारीकरणको वातावरण बन्नसके पुष्पखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना गर्न सक्ने उहाँको अनुभव छ ।
























