राजनीति
संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन, आँच पुर्याउनेले सजाय पाउनुपर्छः रवि लामिछाने

काठमाडौँ, कार्तिक १४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नभएको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउने काम गर्ने जोसुकै भए पनि सजायको भागीदार हुनुपर्ने बताएका हुन्। ‘संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन। रास्वपा र रवि लामिछाने यसमा स्पष्ट छ, यसमा कहिल्यै कसैले दुविधा मान्नुपर्दैन,’ उनले भने, ‘संविधानमा आँच आउने कुनै पनि क्रियाकलाप जोकसैले गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ र त्यसले जिम्मेवारी लिनुपर्छ।’
संविधानलाई बेवास्ता गर्ने तथा संविधानप्रदत्त अधिकारलाई मिच्ने जोकोही व्यक्तिले उन्मुक्ति नपाउने उनले बताए। यस विषयमा पार्टी बैठक बसेर छिट्टै आधिकारिक निर्णय सार्वजनिक गरिने समेत उनले जानकारी दिए।
























