Breaking News
भारतीय चर्चित टेलिभिजन शो ‘सीआईडी’का निर्माता बीपी सिंहको हृदयाघातबाट निधन

मुम्बई, कात्तिक ११ –
भारतीय चर्चित टेलिभिजन शृङ्खला ‘सीआईडी’ र ‘आहट’का निर्माता तथा निर्देशक बृजेन्द्र पाल सिंह (बीपी सिंह) को हृदयाघातबाट निधन भएको छ। उनको मंगलबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय फिल्म निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत सिंहको निधनको जानकारी दिएका हुन्। उनको निधनले भारतीय टेलिभिजन क्षेत्रमा शोक छाएको छ।
दुई दशकभन्दा बढी समय ‘सीआईडी’मा एसीपी प्रद्युम्नको भूमिका निर्वाह गरेका अभिनेता शिवाजी साटमले सिंहलाई आफ्नो मार्गदर्शक, सहकर्मी र घनिष्ठ साथीका रूपमा स्मरण गरेका छन्। उनले सिंहबाट क्यामेराअगाडि अभिनय गर्ने तरिका र भूमिकालाई प्रभावकारी बनाउने कला सिकेको बताएका छन्।
सिंहको कामप्रतिको समर्पण स्मरण गर्दै साटमले हृदयाघातको शल्यक्रिया भएको तीन महिनामै उनी क्यामेरा लिएर छायाङ्कनमा खटिएको बताए। स्वास्थ्यमा समस्या हुँदासमेत उनी कामप्रति उत्तिकै समर्पित रहेको साटमको भनाइ छ।
सन् १९७३ मा दूरदर्शनमा समाचार क्यामेराम्यानका रूपमा करियर सुरु गरेका सिंहले पछि टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा आफ्नो पहिचान स्थापित गरेका थिए। उनले निर्माण गरेको ‘आहट’ भारतीय टेलिभिजनको चर्चित डरप्रधान शृङ्खलामध्ये एक बनेको थियो।
सन् १९९८ मा सुरु भएको ‘सीआईडी’ले उनलाई थप लोकप्रिय बनायो। दुई दशकभन्दा बढी समय प्रसारण भएको यो अपराध अनुसन्धानमा आधारित शृङ्खला भारतीय टेलिभिजनको लामो समयसम्म चल्ने कार्यक्रममध्ये एक हो। सिंहले यसमा निर्माण तथा निर्देशनसँगै डीसीपी शमशेर सिंह चित्रोलेको भूमिकामा अभिनयसमेत गरेका थिए।
सन् २००४ मा ‘सीआईडी’को एउटा भाग १११ मिनेटसम्म एकै निरन्तर शटमा छायाङ्कन गरेर कीर्तिमान कायम गरिएको थियो। सिंहले सन् २०१८ देखि २०२० सम्म भारतीय फिल्म तथा टेलिभिजन संस्थान (एफटीआईआई), पुणेको अध्यक्षका रूपमा पनि काम गरेका थिए।
























