Breaking News
बिल लिने संस्कार विकास गर्न खरिदकर्तासँगै विक्रेतालाई पनि प्रोत्साहन दिनुपर्छः अभिनेता दीपकराज गिरी

काठमाडौं,कार्तिक १-
अभिनेता दीपकराज गिरीले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न उपभोक्ताका साथै विक्रेतालाई समेत प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने बताउनुभएको छ ।आईतवार काठमाडौंमा आयोजित करदाता प्रोत्साहन कार्यक्रमको विजेता घोषणा समारोहमा बोल्दै उहाँले उपभोक्ता र व्यवसायी दुवै सचेत भए मात्रै कर प्रणाली प्रभावकारी हुने बताउनुभएको हो । अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागद्वारा सञ्चालित लक्की ड्रमार्फत बिल लिने १६ जना सर्वसाधारण उपभोक्ताले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । सोही अवसरमा अभिनेता गिरीले विजेताहरूलाई बधाई दिँदै बिल लिने दिने संस्कृतिले राज्यको राजश्व संकलनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गिरीले आम नागरिकमा अझै पनि सामान खरिद गरेपछि बिल माग्ने बानीको अभाव रहेको र करसम्बन्धी चेतना अपेक्षाकृत रूपमा बढ्न नसकेको औँल्याउनु भयो । उपभोक्तालाई आकर्षित गर्न पुरस्कारको व्यवस्था गरिनु सकारात्मक कदम भएको उल्लेख गर्दै उहाँले विक्रेता पक्षलाई पनि यस्तै किसिमको प्रोत्साहन दिन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सामान खरिदकर्तालाई पुरस्कृत गर्ने प्रणाली अत्यन्तै सराहनीय छ । यदि सामान बेच्ने व्यापारी वा पसललाई पनि बिल जारी गरेबापत निश्चित प्रोत्साहन दिने संयन्त्र बनाउन सकियो भने यसले पारदर्शितालाई दोहोरो गति दिनेछ ।’
पछिल्लो समय राजश्व प्रशासनले उपभोक्तालाई कर प्रणालीप्रति आकर्षित गर्न शुरु गरेको योजनाको प्रशंसा गर्दै उहाँले यस कदमलाई चाडपर्वको सन्दर्भसँग जोडेर खुशी व्यक्त गर्नुभयो । उहाँले चाडबाडको मुखमा उपभोक्ताले पुरस्कार स्वरूप पाएको रकमलाई ‘महादशैँको उपहार’ भन्दै कर तिर्ने र बिल लिने दायित्वलाई नागरिक कर्तव्यका रूपमा आत्मसात गर्न अपिल गर्नुभयो ।























