Breaking News
व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा

काठमाडौं असोज ३१-
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताए ।
‘कुनै दिन म चुकेको महशुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ,’ थापाले भने, ‘किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन ।’
पार्टी सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता उनले व्यक्त गरे । पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै उनले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए । नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
‘पार्टी सार्वजनिक सम्पत्ति हो, जहाँ हजारौँ मानिसको रगत, पसिना र योगदान जोडिएको हुन्छ,’उनले भने, ‘व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो ।’
मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै थापाले दशैँको फूलपातीकै दिन समेत हजारौँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन बाध्य हुनु राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय भएको बताए । रातारात चमत्कार गर्न नसकिए पनि स्वदेशमै युवाहरूलाई स्वाभिमानका साथ बाँच्ने वातावरण निर्माण गर्न कांग्रेसले आफ्ना तर्फबाट इमान्दार प्रयत्न थाल्नुपर्ने बताए । पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने र व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउँदै उनले नेता तथा कार्यकर्ताहरूलाई अब कोठाभित्र बसेर निराशाको गन्थन नगर्न आग्रह गरे ।























