मकवानपुर

भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती

०
Banner

मकवानपुर, असोज ३१ –

हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय भक्तजनको सहभागितामा फूलपाती भित्र्याइएको हो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनीका निमन खड्कासहित सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बडादशैंको सातौँ दिन मनाइने फूलपाती पर्वमा नवदुर्गा भवानीको प्रतीकका रूपमा फूलपाती भित्र्याउने धार्मिक परम्परा छ । यस अवसरमा मन्दिर परिसरमा भेला भएका भक्तजनले पूजाआजा गर्दै देवी भगवतीको आराधना गरेका थिए । सेना तथा प्रहरीको सहभागितामा दिइने सलामीले यस पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको थियो।

हेटौँडाको मध्यभागमा अवस्थित भुटनदेवी मन्दिर मकवानपुरकै पुराना र प्रसिद्ध शक्तिपीठमध्ये एक हो । मन्दिरको धार्मिक सम्बन्ध हिन्दु धर्मग्रन्थ महाभारतमा वर्णित हिडिम्बासँग जोडेर हेर्ने धार्मिक जनविश्वास छ । भुटनदेवीलाई हेटौँडाको अधिष्ठात्री देवीका रूपमा समेत श्रद्धा गरिन्छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले यस मन्दिरको स्थापना मध्यकालतिर मकवानपुरका सेन राजाले गरेको र वि।सं। १८६० मा स्थापना भएको मानिने विवरण सार्वजनिक भएको जानकारी गराए ।

भुटनदेवी मन्दिरमा प्रत्येक वर्ष बडादशैंको अवसरमा फूलपाती भित्र्याउने परम्परालाई निरन्तरता दिइँदै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय भक्तजनको सहभागितामा बाजागाजासहित पूजाआजा गर्ने गरिन्छ । भुटनदेवी मन्दिरमा बडादशैं तथा नवरात्रका अवसरमा दर्शन र पूजाआजाका लागि ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गर्छन्। विशेषगरी फूलपाती, अष्टमी, नवमी र विजयादशमीका दिन मन्दिर क्षेत्रमा धार्मिक चहलपहल बढ्ने गर्दछ । हरेक शनिबार पनि उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गरेको पाइन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>