राजनीति

कांग्रेस केन्द्रीय समितिमा खुमा अर्यालको ‘इन्ट्री’

०
Banner

काठमाडौं, असोज ३० –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुमा प्रसाद अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश खुला क्लस्टरबाट उम्मेदवारी दिएका अर्याल २ हजार २८७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

स्याङ्जा क्षेत्र नं।२ का स्थायी बासिन्दा अर्याल विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीको संगठन निर्माणदेखि आर्थिक व्यवस्थापनसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्यका उम्मेदवारसमेत बनेका अर्यालले पार्टीको कार्यवाहक कोषाध्यक्षदेखि आर्थिक संयोजकसम्मको जिम्मेवारी निर्वाह गरेका छन् ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्टका रूपमा समेत परिचित उनी व्यवसाय, सामाजिक सेवा र पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

अर्यालले स्थापना गरेको अर्याल एन्ड अर्याल चार्टर्ड एकाउन्टेन्ट्समार्फत व्यावसायिक यात्रा अघि बढाएका उनले शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युत् तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेका छन् । मेडिकल शिक्षामा नेपाली विद्यार्थीको पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न मेडिकल कलेजमा लगानी गरेका उनी कृषि क्षेत्रको आधुनिकीकरणमा समेत संलग्न छन् ।

स्याङ्जामा आधुनिक पोल्ट्री फार्म स्थापना गरेका अर्यालले जनकपुरमा अत्याधुनिक लेयर्स फार्म सञ्चालन गरेका छन् । हेटौँडास्थित दाना उद्योगलगायत विभिन्न परियोजनामार्फत उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । उनका विभिन्न व्यवसाय तथा परियोजनाबाट १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

व्यावसायिक गतिविधिसँगै अर्याल खुमा अर्याल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुद क्षेत्रमा सामाजिक गतिविधिमा संलग्न रहँदै आएका छन् ।

स्याङ्जासहित विभिन्न जिल्लामा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका अर्यालको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टीको केन्द्रीय नेतृत्वमा उनको भूमिका थप विस्तार भएको छ ।

गण्डकी प्रदेश खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित अर्यालले अब पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र आर्थिक व्यवस्थापनका विषयमा आफ्नो अनुभवलाई केन्द्रीय तहमा अघि बढाउने अवसर पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>