गोरखा
उज्यालो नेपालका अध्यक्ष घिसिङद्धारा बूढीगण्डकी बाढीबाट क्षति पुगेको आरुघाट क्षेत्रको निरीक्षण

गोरखा, असोज २५ –
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बूढीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेको गोरखाको आरुघाट क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
बाढीका कारण क्षेत्रका सडक, पुललगायत भौतिक पूर्वाधारमा क्षति पुगेको र स्थानीयको जनजीवन तथा आवागमन प्रभावित भएको उनले बताएका छन्।
क्षतिको यथार्थ आकलन गरी अवरुद्ध संरचनाको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
उनले विपद्को समयमा मानवीय जीवनको रक्षा, प्रभावितको उद्धार र पीडितलाई तत्काल राहत उपलब्ध गराउनु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय, सुरक्षा संयन्त्र, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र आम नागरिकलाई आपसी समन्वय तथा सहकार्यका साथ जुट्न उनले आग्रह गरेका छन्।
विपद्बाट प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिन सबै पक्षले उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नुपर्ने उनको भनाइ छ।

























