Breaking News
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव

काठमाडौं, असोज २३ –
दुर्गम गाउँ, विपद् प्रभावित क्षेत्र र विपन्न समुदायसम्म नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न सरकारले दिगो ऊर्जा कोष स्थापना गर्ने र प्राथमिकताका आधारमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था प्रश्ताव गरेको छ ।
‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा वचत र परम्परागत ऊर्जामाथिको निर्भरता घटाउने उद्देश्यसहित वित्तीय स्रोत परिचालन तथा सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था अघि सारेको हो । विधेयकको दफा ३० मा दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ । उक्त कोषमा नेपाल सरकार, व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त रकम, विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको अनुदान, कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी कार्यक्रमबाट प्राप्त रकम र विभिन्न सेवा तथा अनुमतिपत्रबापत प्राप्त शुल्क जम्मा गरिनेछ ।























