Breaking News
निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर छानबिन गरौँः खुश्बु ओली

काठमार्डां,असोज २१-
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने बताउनुभएको छ ।बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियासम्बन्धी उजुरी सार्वजनिक लेखा समितिमा परेको र बेनामी उजुरी पनि पर्न सक्ने भएकाले त्यसलाई अध्ययन गर्नु समितिको जिम्मेवारी भएको बताउनु भयो ।
उपसमितिको काम छानबिन वा कारबाही गर्ने नभइ तथ्य र कागजातका आधारमा अध्ययन गरी प्रतिवेदन र आवश्यक सिफारिस पेश गर्नु रहेको बताउनु भयो । सार्वजनिक खरिद ऐन तथा प्रचलित कानूनअनुसार खरिद प्रक्रिया भए–नभएको अध्ययन गरिने स्पष्ट पार्नुभयो । उजुरी पर्नु नै कसैलाई दोषी ठहर गर्नु नभएको बताउँदै ओलीले उजुरीलाई तथ्य, प्रमाण र कानूनी प्रक्रियाका आधारमा अध्ययन गर्नुपर्ने बताउनु भयो ।
प्रमुख सचेतक ओलीले कागजात तथा तथ्यको अध्ययनका आधारमा प्रतिवेदन र सिफारिस गर्ने बताउनु भयो ।























