Breaking News
आजदेखि तीन दिनसम्म पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असोज २१ –
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले बुधबार बिहान ८ बजे जारी गरेको मौसम चेतावनी नक्साअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार असोज २१ गते बुधबारदेखि असोज २३ गते शुक्रबारसम्म ती क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको हो। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक र यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी भारी वर्षा हुने स्थानमा खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ। विभागले वर्षा तथा बाढीसम्बन्धी जोखिमको नियमित अनुगमन गर्दै आएको छ।
विभागको वर्षा मापन प्रणालीअनुसार २४ घण्टामा १४० मिलिमिटर वा सोभन्दा बढी वर्षा भएमा पहाडी भिरालो क्षेत्रमा पहिरो तथा स्थानीय खोलानालामा उच्च बहावको सम्भावना बढ्ने उल्लेख छ।























