राजनीति
उपसभापतिमा मनोनयन पछि चौधरीले भनेः युवाको उर्जालाई समेटेर अघि बढ्छु

मुक्ति तिवारी,
काठमाडौं,असोज २०-
नेपाली कांग्रेसका नेता बिनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा समावेशीतर्फबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। चौधरीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन्। उम्मेदवारी दर्ता गराएपछि उनले परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्पका साथ नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दिशातर्फ अघि बढाउने बताएका छन्।
अर्थतन्त्रलाई बलियो बनाउन र यसको जग बसाल्ने खुला अर्थतन्त्रको नीति काङ्ग्रेसकै पहलमा सुरु भएको उल्लेख गर्दै उनले स्वदेशमै लगानीको बाताबरण तयार गर्न आफ्नो भुमिका रहने बताए । मेरो जीवन नै रोजगारी र उद्यमशिलतामामै ब्यतित भएको छ,मैले राजनीति कति बुझे,कसरी बुझे भन्ने भन्दा पनि म जुन भूमिकामा रहेपनी देशलाई कसरी समृद्ध बनाउन सकिन्छ,कसरी युवाहरूलाई यहीँ रोक्न सकिन्छ भन्नेमा नै सक्रिय छु,मनोनयन दर्ता गर्दै उनले भने ।
निजि क्षेत्रले पनि राष्ट्रको झन्डा अन्तरास्ट्रिय जगतमा फैलाएको भन्दै चौधरीले काङ्ग्रेसले युवा हरुको आकर्षणलाई ब्यवसायिकता तर्फ पनि जोड्न सक्नु पर्छ भन्ने उदेश्यले आफ्नो उम्मेदवारी उपसभापतिमा रहेको बताए । उनले कांग्रेसलाई नयाँ दिशातर्फ अघि बढाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।























