देश/प्रदेश

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

०
Banner

कर्णाली,असोज १९-

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा आइतबार बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ विभिन्न निर्णय गरेको हो । कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लामा आगामी मङ्सिर १६–२७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । बैठकले प्रतियोगिता आयोजना गर्ने सरकारको गत भदौ २२ को निर्णयलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै, प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को अधिनमा रही प्रतियोगिताको पूर्वतयारीका सम्बन्धमा आवश्यक काम गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोली सहभागी हुनेछ । यस्तै ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ ।

यस्तै, प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक कार्य सार्वजनिक निजी, साझेदारीको अवधारणा अवलम्बन गरी प्रायोजकसँग समझदारी कार्यान्वयन गराउने, खेल सम्पन्न गर्न विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

मूल आयोजक समितिको काम, कर्तव्य र अधिकारभित्र रही प्रतियोगितासम्बन्धी आवश्यक कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको सदस्यसचिव मेहताले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>