राजनीति
काठमाडौं लोकतन्त्र र प्रजातन्त्रका लागि संघर्षको थलो होः महामन्त्री पौडेल

काठमाडौं, असोज १८-
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशनले परिवर्तित परिस्थिति र सम्भावनालाई आत्मसात् गर्दै नयाँ जोश र ऊर्जाका साथ अघि बढ्ने अठोट गर्नुपर्ने बताएका छन्। कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले ऐतिहासिक पृष्ठभूमि बोकेको काठमाडौंमा महाधिवेशन आयोजना हुनु आफैँमा महत्वपूर्ण रहेको बताए।
उनले काठमाडौं लोकतन्त्र र प्रजातन्त्रका लागि महत्वपूर्ण संघर्षको थलो भएको उल्लेख गर्दै सर्वोच्च नेता गणेशमान सिंहको जन्मभूमि र कर्मभूमिका रूपमा समेत यसको विशेष राजनीतिक पहिचान रहेको बताए। ‘यो ऐतिहासिक पृष्ठभूमि बोकेको संघीय राजधानी काठमाडौँ हो। त्यसभन्दा पनि सर्वोच्च नेता वीर गणेशमानको जन्म भएको, कर्म गरेको र लोकतन्त्र तथा प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पित गरेको ठाउँ हो,’ पौडेलले भने।
काठमाडौंमा जन्मिएका तथा देशभरबाट आएका अनगिन्ती नेता–कार्यकर्ताले लोकतन्त्र र प्रजातन्त्रका लागि जीवनपर्यन्त संघर्ष गरेको उल्लेख गर्दै उनले महाधिवेशनमा सहभागी प्रतिनिधिलाई त्यस ऐतिहासिक विरासतप्रति गर्व गर्न आग्रह गरे। ‘विभिन्न ७७ जिल्लाबाट आफ्नो राजनीतिक कर्म गरेर आउनुभएका नेतृत्वले जीवनपर्यन्त लोकतन्त्र र प्रजातन्त्रका लागि संघर्ष गर्नुभएको छ। त्यसैले यो थलोको आफ्नै गरिमा र राजनीतिक तथा सांस्कृतिक पहिचान छ,’ उनले भने।
पौडेलले कांग्रेसको विशेष महाधिवेशनले पार्टीलाई परिवर्तित परिस्थितिअनुसार अघि बढाउने अठोट गरेको स्मरण गर्दै १५औं महाधिवेशनले पनि त्यही अभियानलाई निरन्तरता दिनुपर्ने बताए। उनले वर्तमान राजनीतिक परिस्थिति र सम्भावनालाई ध्यानमा राख्दै कांग्रेसलाई नयाँ जोश, ऊर्जा र उत्साहका साथ अघि बढाउनुपर्नेमा जोड दिए।























