राजनीति
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं ,असोज १८-
उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
स्याङ्जा क्षेत्र नं २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका अर्यालले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा स्थापित गर्ने एजेण्डासहित उम्मेद्वारी घोषणा गरेका हुन् ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अर्याल युवावस्थादेखि नै नेपाली कांग्रेसको विचार र संगठन निर्माणमा पार्टीभित्र एक लगनशील र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित छन् ।
नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्य उम्मेदवार समेत बनेका अर्यालले नेपाली कांग्रेसको कार्यवाहक कोषाध्यक्षदेखि आर्थिक संयोजकसम्मको जिम्मेवारी सफलतापूर्वक जिम्मेवारी पुरा गरेका छन् ।
पेशागत रूपमा अर्याल नेपालका वरिष्ठ चार्टर्ड एकाउन्टेन्टमध्ये एक हुन् । उनले स्थापना गरेको अर्याल एन्ड अर्याल चार्टर्ड एकाउन्टेन्ट्स मार्फत देशका ठूला उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूलाई व्यावसायिक सेवा प्रदान गर्दै आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए ।
शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा विशेष रुचि राख्ने अर्यालले नेपालमै गुणस्तरीय मेडिकल शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न मेडिकल कलेजहरूमा महत्वपूर्ण लगानी गरेका छन् ।
भैरहवा मेडिकल कलेज ९यूसीएमएस०, गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज नेपालगञ्ज तथा सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थाहरूमा उनी प्रमुख लगानीकर्ताका रूपमा संलग्न रहेका छन् ।
मेडिकल शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै नेपाललाई मेडिकल शिक्षाको केन्द्र बनाउने उद्देश्य उनका लगानीको प्रमुख आधार रहेको बताइन्छ ।
यसैगरी कृषि क्षेत्रको आधुनिकीकरणमा पनि अर्यालको उल्लेखनीय योगदान रहेको छ । कृषि प्रधान देश नेपालमा परम्परागत र निर्वाहमुखी खेती प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यका साथ उनले विभिन्न कृषि परियोजनामा लगानी गरेका छन् ।
स्याङ्जामा आधुनिक पोल्ट्री फार्म स्थापना गरेका अर्यालले जनकपुरमा नेपालकै पहिलो अत्याधुनिक लेयर्स फार्म सञ्चालन गरेका छन्, जसको क्षमता करिब ८ लाख ५० हजार कुखुरा रहेको बताइन्छ। साथै हेटौंडास्थित दाना उद्योगलगायत कृषि क्षेत्रका विभिन्न परियोजनामा उनको सक्रिय लगानी रहेको छ ।
शिक्षा क्षेत्रमा पनि अन्तर्राष्ट्रिय स्तरको विद्यालय स्थापना गर्ने अभियानमा रहेका अर्यालले जलविद्युत् तथा अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् । विभिन्न क्षेत्रमा गरिएको लगानीमार्फत हालसम्म १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै उनी सफल उद्यमी र रोजगारदाताका रूपमा स्थापित भएका छन् ।
अर्यालले खुमा अर्याल फाउन्डेसनमार्फत उनले स्याङ्जासहित देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।























