मकवानपुर

कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

०
Banner

बागमती, असोज १५ –

मकवानपुर जिल्लाको दक्षिण–पूर्वी भागमा अवस्थित बकैया गाउँपालिका कृषिलाई समृद्धिको आधारका रूपमा लिँदै व्यावसायिक कृषिको प्रवर्द्धन र विकासमा अग्रसर भइरहेको छ ।

साविकका धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिङ्गन गाविसलाई समेटिएको गाउँपालिकाको पूर्वमा बागमती गाउँपालिका, पश्चिममा हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी, उत्तरमा ललितपुर जिल्ला र भीमफेदी गाउँपालिका तथा दक्षिणमा रौतहट र बारा जिल्लासँग सीमा जोडिएको छ ।

पालिकाको अधिकांश भू–भाग पहाडी र भिरालो भूगोल भएका कारण पूर्वाधार विकासका दृष्टिबाट पछि परेको छ । पछिल्ला वर्षमा कृषिलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका सम्पूर्ण कार्यक्रम अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो । त्यस पालिकाले किसानलाई प्रोत्साहित गर्ने किसिमका कार्यक्रम सञ्चालन गरिरहेको छ

“हामी कृषिबाली तथा पशुपालनको व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै आएका छौँ”, उपाध्यक्ष खत्रीले भन्नुभयो, “जीविकोपार्जनका लागि कृषिमा आश्रित किसानको उत्पादनको बजारीकरणका लागि पालिकाले नै ग्यारेन्टी लिएर अघि बढ्नेलगायत कार्यक्रम हाम्रो प्राथमिकतामा रहेका छन् ।”

कृषिलाई उच्च प्राथमिकतामा राख्दै अनुदानका कार्यक्रमका साथै गाउँपालिकामा साइलेज तथा दाना उत्पादन तथा वितरण भइरहेको प्रशासकीय अधिकृत विनोद पोख्रेलले जानकारी दिनुभयो ।

“पालिकाले सहुलियत दरमा कृषकलाई पशु आहारा उपलब्ध गराउने उद्देश्यका साथ साइलेज तथा दाना उद्योग स्थापना गरी उत्पादन सुरु गरेको हो”, उहाँले भन्नुभयो ।

पालिका आफैँले पशु आहारा उत्पादन गरी किसानलाई सहुलियत रूपमा प्रदान गर्न थालेसँगै सर्वसाधारणमा व्यावसायिक कृषिप्रतिको आकर्षण पनि बढाएको छ ।

कुल १२ वडा रहेको पालिकामा वडा नं ३, ४, ५, ७, ८, ९ लगायतका वडामा कृषक व्यावसायिक पशुपालनमार्फत दूध उत्पादनमा जोड दिँदै आएका छन् ।

पालिकाले विशेषगरी हिउँदको सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने अवस्थालाई दृष्टिगत गरी साइलेज उद्योग सञ्चालन गर्दै उत्पादन भएको साइलेज ५० प्रतिशत अनुदान सहयोगमा कृषकलाई उपलब्ध गराउँदै आएको छ ।

गाउँपालिकाले सहुलियत दरमा उपलब्ध गराएको साइलेज पशु आहारका अत्यन्त उपयोगी बनेको कृषक बताउछन् ।

साइलेज उत्पादनका लागि पालिकाले किसानसँग ढोडसहित प्रतिकिलो रु पाँचमा मकै किनेर ल्याई प्रशोधन गरेर साइलेज तयार गर्दै आएको छ । तयारी साइलेजको प्रतिकिलो रु १४ मूल्य कायम गरी किसानलाई ५० प्रतिशत सहुलियतमा रु सात प्रतिकिलो उपलब्ध गराइएकोे प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

कृषकलाई पीठो तथा चोकरको मूल्य महँगो पर्ने भएकाले साइलेज खुवाउँदा उत्पादन लागत पनि कम पर्ने पालिकाले जनाएको छ । पशुपालसँगै दूध उत्पादनमा जोड दिएको पालिकामा दैनिक २१ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको छ ।

पालिकाका कृषि विकास शाखा प्रमुख श्वेता भट्टका अनुसार बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा करिब ५० लाख लिटर दूध उत्पादन गरेको थियो । गाउँपालिकाका चार हजारभन्दा बढी कृषक गाईपालन तथा दुग्ध उत्पादन व्यवसायमा आबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

“हाल गाउँपालिकाबाट दैनिक २० हजार लिटरभन्दा बढी दूध उत्पादन तथा बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेको दूधको बजारीकरण सुनिश्चित गर्न गाउँपालिकाले आठ वटा दुग्ध सहकारीमार्फत दूध सङ्कलन गरी शिवपुरी फ्रेश डेरीमा बिक्री तथा वितरण गर्ने व्यवस्था मिलाएको छ ।”

यसबाट स्थानीय कृषकले नियमित र सुनिश्चित बजार प्राप्त गर्नुका साथै दूधको रकम हरेक १५ दिनमा भुक्तानी हुँदै आएको प्रमुख भट्टले बताउनुभयो ।

गाउँपालिकाको सहजीकरणमा दूधको उत्पादन, सङ्कलन, बजारीकरण तथा भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै कृषकको उत्पादनको बजार सुनिश्चितता र आयआर्जनमा योगदान पुर्‍याइएको उहाँले बताउनुभयो ।

प्रमुख भट्टका अनुसार, आव २०८२/८३ मा मात्र गाउँपालिकाको सहजीकरणमा ४४ रु करोडभन्दा बढी मूल्य बराबरको दूध बिक्री तथा बजारीकरण भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>