Breaking News
प्रधानमन्त्री शाहले इन्जिनियर सांसदलाई भन्नुभयोः आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिनुहोस्

काठमाडौँ, असोज १४ –
प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरु आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस् ।”
उहाँले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो । प्रधानमन्त्री शाहले निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ मानिस भएको उल्लेख गर्नुहुँदै ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले कहिल्यै पनि घटना र व्यक्तिप्रधान कुरा नगर्ने बताउनुभयो । ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले सदैव नयाँ ‘आइडिया’मा कुरा गर्ने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राख्नुभयो ।
सो छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरु तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा राम लामाको उपस्थिति थियो ।
























