मकवानपुर
मकवानपुरको ज्यामिरे बस्तीमा जमिन चिराचिरा, स्थानीयवासी त्रासमा

बागमती,असोज १४ –
बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन् । गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै कतिखेर के हुने हो भन्ने सन्त्रासले स्थानीयलाई त्रसित बनाएको छ ।
केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्ता बढ्दै गएको छ । यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको छ । भने दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँठाउँमा जमिन चिराचिरा परेको छ ।
यहाँका आठ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त छन् । झण्डै ८० घरधुरी प्रभावितमा परेको बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो । सूचना प्राप्त भएसँगै यहाँका स्थानीयलाई अस्थायी रुपमा सुरक्षित स्थानमा सारिएको छ ।
वरपरको जमिन चिरापर्ने साथै घर नै भत्कन थालेपछि आफूहरू ठूलो समस्यामा परेको स्थानीयवासी चन्द्रमाया थिङले जानकारी दिनुभयो । ११ गते दिउँसो १ः०० बजेतिर पशुबस्तुका लागि घाँस काटेर घरमा आउँदा घरभित्रको मझेरी चिरिएको देखेपछि के भयो भन्दाभन्दै एकाएक वरपरको जमिनसमेत फाटेको उहाँले अनुभव सुनाउनुभयो ।
“जमिनसँगै घर भित्रै चिरा पर्न थालेपछि डाङ्डाङडुङ्डुङ गरी आवाज आउन थाल्यो”, उहाँले भन्नुभयो, “घर नै चिराचिरा परेर भत्कन थालेपछि त्यो दिन राति छिमेकीकामा बसेको र अर्को दिनदेखि स्कुलमा बस्दै आएका छौँ ।” आफूहरू आर्थिक रुपमा कमजोर रहेको बताउँदै उहाँले सरकारबाट पूर्ण रुपमा साथ र सहयोग हुने आशा रहेको बताउनुभयो ।
अर्का स्थानीय चित्रबहादुर किलुङको पनि उस्तै दुःखेसो छ । धेरै दुःख कष्ट गरेर बनाएको घर चिराचिरा पर्न थालेसँगै बस्न सकिने अवस्थामा नरहेको बताउँदै ७० वर्षीय किलुङ आफूहरू बेसहारा बनेको बताउनुभयो । आफु विपन्न रहेको बताउँदै उहाँले सुरक्षित स्थानान्तरण र सहज जीविकोपार्जनका लागि सरकारको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
स्थानीयवासीका अनुसार यहाँका करिब दुई वर्गकिलोमिटर क्षेत्रमा ठाउँठाउँमा जमिन चिराचिरा पर्नुका साथै केही भूभाग तलतिर सरेको छ भने त्यस क्रममा जमिनभित्रबाट अस्वाभाविक आवाज आएको थियो । ८४ वर्षीय रामबहादुर घलान जमिन चिराचिरा पर्नेक्रमसँगै घर भत्किएपछि घरबारविहीन बनेको बताउँदै तत्काल सुरक्षित स्थानान्तरणको खोजीमा रहेको बताउनुहुन्छ ।
जमिन फाट्नुका साथै सडक र विद्युत्का खम्बासमेत ठाउँठाउँमा कोल्टिएपछि सिङ्गो गाउँ नै त्रासमा रहेको बकैया गाउँपालिका– ६ का वडाध्यक्ष फूलमान भम्जनले बताउनुभयो ।
यहाँको बस्ती विकास २०२० सालदेखि नै भएको हो । गाउँमा विशेषगरी तामाङ र विक समुदायका मानिसको बाहुल्यता छ । यसअघि २०६८ सालमा पनि यहाँको जमिनमा यस्तै चिराचिरा परेको थियो । त्यस बखत यहाँबाट विद्यालय सार्नुपरेको थियो ।
तत्कालीन समयमा शङ्खेश्वरी प्राविलाई ठूलो ज्यामिरेबाट देवीडाँडा ९तल्लो टोल० मा सारिएको जानकारी दिँदै उहाँले अहिले सो विद्यालयमा यस क्षेत्रका ठूलो ज्यामिरे, सानो ज्यामिरे, काल्छे, खोला, भोगटे, अल्छेलगायत स्थानबाट विद्यार्थी पढ्नका लागि आउने गरेका छन् ।
ज्यामिरेमा जमिन चिराचिरा पर्न थालेको सूचना पाप्त हुनासाथ यस क्षेत्रका स्थानीयवासीको जिउधनको सुरक्षाका लागि मकवानपुर प्रशासनले विशेष चासो दिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मङ्गलबार उक्त क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
स्थलगत अवलोकनका क्रममा प्रजिअ अधिकारीले जमिन चिराचिरा परिरहेको अवस्थामा पहिलो प्राथमिकता आफ्नो ज्यानको सुरक्षा भएको भन्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभयो ।
“हामीले यहाँको घटनाबारे जानकारी पाउनसाथ फापरबारी प्रहरीचौकीका साथै सशस्त्र प्रहरी, नेपाली सेनासहित यहाँका वासिन्दालाई सुरक्षित रहन सूचना जारी गर्यौं”, उहाँले भन्नुभयो, “अहिले स्थानीयवासी रातको समयमा स्कुलमा बस्नुहुन्छ ।”
स्थानीय विपद् व्यवस्थापन समितिले स्थलगत अवलोकन गरेपछि सो स्थान मानवबस्तीका लागि योग्य नभएको बताएको छ । रासस























