Breaking News
थप पहिरो नआए पृथ्वी राजमार्गमा आज दिँउसो १ बजेदेखि पूर्णरूपमा सवारी सञ्चालन हुने

धादिङ, असोज १४ –
निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गमा आजदेखि पूर्णरूपमा सवारी सञ्चालन हुने भएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार बेलुका जारी गरेको सूचनाअनुसार थप पहिरो वा अवरोध नआए बुधबार (असोज १४) गते आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्णरूपमा सञ्चालनमा आउनेछन्।
वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा खसेका पहिरो तथा सडक भासिएर सिर्जित अवरोध हटाउने काम भइरहेको छ। हाल कतिपय स्थानमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको प्रशासनले जनाएको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
यस्तै, सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्णरूपमा पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।























