Breaking News
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा सरकारको प्रष्टिकरण– ‘पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’

१३ आश्विन २०८३, मंगलबार
सरकाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा प्रदान गर्न उद्धार गरिए सुरक्षित ठाउँमा लगिएको स्पष्टिकरण दिएको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रष्टिकरण दिनुभएको हो । पूर्वप्रधानन्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको मन्त्री पोखरेलको दाबी छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगञ्जस्थित घरबाट शनिवार राति पक्राउ गरेको थियो । पछि आईतवार दिउँसो उहाँलाई छोडिएको थियो ।
सरकारका प्रवक्ता पोखरेलले भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीशको बारेमा सबैतिरबाट प्रश्न आएको छ । उहाँलाई पक्राउ गरिएको होइन भन्ने कुरा प्रष्ट भइसकेको छ । पक्राउ गरिएको, नियन्त्रणमा लिइएको होइन । तपाईंहरुले देख्नु भएकै छ, उहाँको थप सुरक्षाको लागि परिवारबाट प्रहरी कार्यालयमा निवेदन पनि पठाउनुभएको छ । उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि रेस्क्यु गरेर लगिएको हो । त्यो कुराको पुष्टि पछि उहाँहरुले नै सुरक्षा माग गरेर गरिसक्नुभएको छ ।’
२०७५ पुस १८ गतेदेखी प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नुभएको थियो ।























