Breaking News
हिमपहिरोमा परी सम्पर्कविहीनमध्ये थप दुई जनाको शव फेला, मृतकको संख्या चार पुग्यो

मनाङ, असोज १२ –
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ।
नेपाल प्रहरीका अनुसार हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ नेपाली नागरिकमध्ये १० जना असोज ११ गते साँझ सकुशल फु गाउँमा पुगेका थिए। बाँकी १२ जना सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीनमध्ये यसअघि उद्धार गरिएका दुई जनाको शव प्रदेश अस्पताल चामेमा राखिएकोमा सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ। मृतकमा संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला–२ का करिब ३१ वर्षीय पासाङ भोटे रहेका छन्।
यसैगरी, सोमबार बिहान करिब ११ बजे हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूको नामथर र ठेगाना खुल्न सकेको छैन।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फ पर्छ। बाँकी सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।























