Breaking News
अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङ, असोज १२ –
अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
नेपाल प्रहरीका अनुसार असोज १० र ११ गते परेको अविरल वर्षापछि तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा घर पुरिएर उनीहरूको मृत्यु भएको हो।
तमानखोला गाउँपालिका–४ सन्तरकी ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको पहिरोमा परी मृत्यु भएको छ। सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता छन्।
त्यस्तै, तमानखोला–३ धनारकुकका ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
निसीखोला गाउँपालिका–६ सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ। निसीखोला–३ कन्केखरियामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन्।
यसैगरी, ताराखोला गाउँपालिका–५ धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ।
पहिरोका कारण विभिन्न स्थानमा घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा स्थानीयको समन्वयमा उद्धार, खोजी तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ।























