Breaking News
अविरल वर्षा, बाढी र पहिरोका कारण एघार सडकखण्ड प्रभावित,पृथ्वी राजमार्गमा यातायात बन्द

काठमाडौँ, असोज १० –
लगातारको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर, राप्ती राजमार्ग र कर्णाली राजमार्गलगायत सडकमा यातायात प्रभावित भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चाक्लाभीर, जम्बुवा खोला र फिस्लिङलगायत स्थानमा यातायात बन्द छ। पहिरो पन्छाउने काम विभिन्न स्थानमा सुरु गरिएको र राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।
बीपी राजमार्गअन्तर्गत मानेरी, पिप्ले, दाउन्ने–कालोपुल, चारसेबेंसी, ककुने र चौकीडाँडालगायत क्षेत्रमा सडक अवरुद्ध छ। पहिरो तथा डाइभर्सनका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डमा सोलु खोलानजिक सडक अवरुद्ध भएको छ। सडक खुलाउन रक ब्रेकरसहित एक्स्काभेटर र ह्विल लोडर परिचालन गरिएको छ। थप वर्षा नभए बेलुकासम्म यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ।
मध्यपहाडी राजमार्गको निसीखोला गाउँपालिका–कानाबगर क्षेत्रमा पनि सडक अवरुद्ध छ। लेदोसहित पहिरो आउने क्रम जारी रहेकाले पहिरो हटाउने मेसिन साइटमै तयारी अवस्थामा राखिएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–७ बेलबगरमा सडक अवरुद्ध छ। बागलुङ–बेनी सडकको म्याग्दी खण्डमा पहिरो हटाउने मेसिन परिचालन गरिएको छ।
त्यस्तै, तमोर करिडोरअन्तर्गत उखुवा खोला, नावा खोला र रानीगाउँलगायत क्षेत्रमा सडक अवरुद्ध छ। खोलामा बहाव कम भएपछि सडक खुलाउने प्रयास गरिनेछ। राप्ती राजमार्गको कपुरकोट–खराबोटा क्षेत्रमा पनि पहिरो हटाउने काम भइरहेको छ।
कर्णाली राजमार्गअन्तर्गत गगने खोला, नाग्म–गमगढीको राँका क्षेत्र, बाँङ्गेसिमल–दैलेखोला तथा हारेनजिक विभिन्न स्थानमा सडक अवरुद्ध छ। साना–ठूला पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको विभागले जनाएको छ।
भालुवाङ–चन्द्रकोट–लिवाङ सडकका विभिन्न स्थानमा पनि आंशिक अवरोध छ। मेसिन परिचालन गरी पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ।
सडक विभागले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।
























