चितवन विशेष
‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

चितवन,असोज ७-
नीलम कार्की ‘निहारिका’ले लेखेको ऐतिहासिक उपन्यास ‘राजमाता’ले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२ पाएको छ । उत्कृष्ट तीन ग्रन्थमा क्षितिज समर्पणको ‘तोरकीन’ र सीमा आभासको ‘महायुग’सँगै परेको ‘राजमाता’ले पुरस्कार पाएको हो । प्रारम्भमा लामो सूची सार्वजनिक गरिएको थियो, जसमा १६ कृति अटाएका थिए ।
पुरस्कार प्रदायक कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एल.बी.क्षेत्रीले विज्ञप्तिमा भनेका छन्, ‘राजमाता उपन्यासले एकातिर तत्कालीन समाजमा महिलाप्रति रहेको परम्परागत धारणा प्रस्तुत गरेको छ भने अर्कोतर्फ समय, आवश्यकता र क्षमताले ती धारणालाई चुनौती दिँदै महिलाहरूले राज्य सञ्चालनमा निर्वाह गरेको प्रभावशाली भूमिकालाई पनि सशक्त रूपमा चित्रण गरेको छ । उपन्यासको यस प्रमुख विशेषतालाई नै यसको सशक्त पक्ष भन्न सकिन्छ ।’ कार्की २०७५ सालको मदन पुरस्कार विजेता पनि हुन् ।


























