Breaking News

रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव

Banner

काठमाडौं,असोज ७ –

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको छ ।

बुधवार मन्त्रालयमा सीप तथा रोजगार मेलाको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच रहेको ‘मिसम्याच’ अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको हो । रोजगारदाता र श्रमिकलाई एउटै प्लेटफर्ममा जोड्ने गरी सरकारले ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको उहाँले बताउनु भयो । चालु वर्ष एक लाख व्यक्तिलाई ‘जब म्याचिङ’मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको उहाँको भनाई छ । मन्त्री यादवले विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित रहेको भएपनि अहिले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो । युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले नीतिगत तथा कार्यक्रमगत सुधार अघि बढाइएको उहाँको भनाइ छ । उहाँले २०७१ सालमा राष्ट्रिय रोजगार नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण हुन नसकेको उहाँले बताउनु भयो । सोही कारण आन्तरिक रोजगारीको क्षेत्रमा अपेक्षित काम हुन नसकेको उहाँको भनाई छ । उहाँले आन्तरिक रोजगारीमा खासै हुन नसकेको बताउनुभयो । आन्तरिक रोजगारी सिर्जनाको लागि मन्त्रालयले आवश्यक नीतिगत सुधारका योजना अघि बढाएको उहाँको भनाई छ । राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदामा सबै सम्बन्धित मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकेको र अब मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय रोजगार ऐनसम्बन्धी प्रस्ताव पनि सहमतिका लागि मन्त्रिपरिषद्मा पठाउने उहाँले बताउनु भयो । मन्त्रालयले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले आन्तरिक रोजगारी सिर्जना र रोजगारदाता तथा श्रमिकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न पहिलोपटक रोजगार, सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको पनि मन्त्री यादवले जानकारी दिनुभयो । तीन वटै तह र निजी क्षेत्रको सहयोगमा हरेक वर्ष सीप तथा रोजगार मेला आयोजना गर्ने उहाँले भनाई छ । मेलालाई सात वटै प्रदेशमा विस्तार गर्ने पनि उहाँले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>