मनोरञ्जन
सिक्लेसमा ‘बुकी फूल’को छायांकन, गुरुङ संस्कृति र मौलिक प्रेमकथा पर्दामा

कास्की, असोज ६-
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा नेपाली कथानक चलचित्र ‘बुकी फूल’ को छायांकन सुरु भएको छ। गुरुङ समुदायको इतिहास, संस्कृति, परम्परा र सामाजिक जीवनलाई कथावस्तुमा समेटिएको चलचित्रको छायांकन सिक्लेस तथा आसपासका रमणीय क्षेत्रमा भइरहेको हो।
अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्रमा संस्कृति गुरुङले दयाहाङसँग जोडी बाँध्दै फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। चलचित्रको कथा तथा परिकल्पना वेदबहादुर गुरुङ ‘श्याम’ को रहेको छ भने निर्देशन ओमप्रकाश गुरुङले गरिरहेका छन्। छायांकनको जिम्मेवारी सुसन प्रजापतिले सम्हालेका छन्।
चलचित्रको सिक्लेसमा गुरुङ परम्पराअनुसार शुभमुहूर्तसमेत गरिएको थियो। गुरुङ समुदायका धार्मिक तथा सांस्कृतिक विधिअनुसार पूजा सम्पन्न गरी चलचित्रको औपचारिक छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ।
‘बुकी फूल’मा गुरुङ समुदायको मौलिक जीवनशैलीसँगै स्थानीय इतिहास, कला, संस्कृति र परम्परालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरिएको छ।
चलचित्रको अधिकांश छायांकन सिक्लेस, लेक कोरीलगायतका क्षेत्रमा गरिनेछ। निर्माण टोलीले करिब ३५ दिनमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको छ।
चलचित्रमा दयाहाङ राई र संस्कृति गुरुङसँगै प्रकाश घिमिरे, पुष्कर गुरुङ, कविता आले मगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, टीकाराम घले, लालशोभा गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ।
निर्माण पक्षका अनुसार ‘बुकी फूल’मार्फत सिक्लेस क्षेत्रको मौलिकता, गुरुङ समुदायको सांस्कृतिक जीवन र स्थानीय भूगोललाई नेपाली दर्शकमाझ मात्र नभई विश्वभर रहेका नेपालीभाषी समुदायसम्म पुर्याउने प्रयास गरिएको छ। चलचित्रले सिक्लेसको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
























