चितवन विशेष
जिल्ला सहकारी संघ चितवनले गर्यो एकै बर्षमा १ अर्ब बढिको कारोबार

कृष्ण आचार्य,
भरतपुर,असोज ५-
चितवनको भरतपुरमा पेट्रोलपम्पदेखि तेल उद्योग सम्म संचालनमा ल्याएको जिल्ला सहकारी संघ लि.ले एक बर्षमा १ अर्ब बढिको कारोवार गरेको छ । संघको सोमबार सम्पन्न ४० औं बार्षिक साधारणसभामा अध्यक्ष शरद कुमार बर्तौलाले एक बर्षको अबधिमा १ अर्ब ११ करोड ५६ लाख ७१ हजार रुपैंया कारोबार भएको जानकारी दिनुभयो । जसमा १ अर्व ४ करोड २९ लाख ७७ हजार ७९ रुपैंया खर्च भएको छ । प्रशासनिक,विविध र कर्मचारीको तलबमा ३ करोड ९७ लाख ८२ हजार खर्च भएको अध्यक्ष बर्ताैलाले जानकारी दिनुभयो । उहाँका अनुसार संघले राज्यलाई ७४ लाख राजश्व तिर्दै एक बर्षमा २ करोड २२ लाख ५३ हजार खुद नाफा गरेको छ ।
‘सहकार्य,एकता र सामूहिक समृद्धीलाई सहकारीको मूल मर्मका रुपमा आत्मसाथ गर्दै संघले सदस्य संघ संस्थाको आर्थिक तथा संस्थागत सुदृढिकरणसंगै दिगो आयस्रोत निर्माणको काम गरिरहेका छौं,अध्यक्ष बर्ताैलाले भन्नुभयो,‘सेवा मूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छौं ।’ संघद्धारा संचालित साझा पेट्रोल पम्पले व्यवसायिक आयआर्जन र दिगो आयस्रोत निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेको उहाँले बताउनुभयो । साझा तेल उद्योग मार्फत कृषि उत्पादनको प्रसोधन,मूल्य नियन्त्रण तथा स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने लक्ष्य लिएका छौं,उहाँले भन्नुभयो । यस्तै साझा चार्जिङ स्टेशन मार्फत हरित उर्जा तथा विद्युतिय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै संघलाई आधुनिक र प्रविधि मैत्री बनाउने प्रयास गरिरहेको अध्यक्ष बर्ताैलाले बताउनुभयो ।
‘प्रस्तावित सहकारी अध्ययन तथा अवलोकन केन्द्र जसलाई आवास गृह (होटल) भनेका छौं,यसले सहकारीको समाजिक तथा व्यवसायीक कार्यक्रमका लागि आवश्यक पूर्वाधारको काम गर्नेछ । सहकारी मार्ट मार्फत स्थानीय उत्पादनका बस्तुहरुको बजार व्यवस्थापन,प्रर्दशनी तथा विक्री प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ,बर्ताेलाले भन्नुभयो ।’ संघले बहुउदेश्यि भवनहरुको व्यवसायिक भाडा व्यवस्थापन गर्दै दिगो आयस्रोतको रुपमा विकास गर्ने योजना बढाएको उहाँको भनाई छ ।
संघको साधारणसभालाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले जिल्ला सहकारी संघको प्रशंसा गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभयो । ‘सहाकारी स्थानीय स्रोत र माटोको प्रयोग गर्नुपर्छ,उहाँले भन्नुभयो,देशलाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण छ ।’ हरेक शेयर सदस्यको घरमा रोजगारी संगै आर्थिक आयआर्जन वातावरण गराउन संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अधिकारीले बताउनुभयो ।
संघका सल्लाहकार संयोजक हरिप्रसाद पौडेलले जिल्ला सहकारी संघ चितवन विगतदेखि वर्तमानसम्म अग्रपङतीमा रहेर काम गरिरहेको बताउनुभयो । उहाँले संघले प्रत्येक बर्ष आफ्नो आय बृद्धि गर्दै लगिरहेको भन्दै सदस्यको लगानीको न्याय गरेको बताउनुभयो ।
संघका पुर्व अध्यक्ष नारायण कोइरालाले सहकारीको जननी चितवनका सहकारी उदाहरणिय बन्नुपर्ने बताउनुभयो । उहाँले यहाँ अन्यत्रको तुलनामा सहकारीमा विकृती कम रहेको भन्दै आयआर्जन हुने क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । साधारणसभामा प्रस्तुत गरिएका विभिन्न एजेण्डा सर्वसम्मत रुपमा पारित भएका छन ।
संघका बरिष्ठ उपाध्यक्ष प्रमेनाथ दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारणसभा जिल्ला सहसचिव विष्णुप्रसाद बास्तोलाले संचालन गर्नुभएको थियो ।
























