राजनीति
एमाले बैठकमा बोल्न तीन मिनेट, मोबाइल नलैजान र भिडियो नखिच्न आदेश

काठमाडौं, असोज ५ –
एमाले केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने प्रत्येक सदस्यका लागि तीन मिनेट समय निर्धारण गरिएको छ । बैठकको सुरुवातमै अध्यक्ष ओलीले बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई समय उपलब्ध गराइने जानकारी गराएका हुन्।
निर्धारित समयमा बोल्न नभ्याएका विषय लिखित रूपमा दिन सकिने उनले बताए। आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले सदस्यहरूलाई अध्ययनका लागि सोमबारको बैठक चाँडै टुंग्याउने र मंगलबारदेखि छलफल अघि बढाउने उनको भनाइ थियो।
अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर धारणा राख्न पनि ओलीले निर्देशन दिएका छन्।
यस्तै, मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन उनले निर्देशन दिएका छन्। बैठकस्थलमा मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत नपाइने उनले बताएका छन्।
बैठकमा आफ्नो आसन छाड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने निर्देशनसमेत ओलीले दिएका छन्।
























