अन्तर्राष्ट्रिय
विवाहको प्रलोभन र महिला उत्पीडनको आरोपमा ‘महाभारत’का भीम सौरव गुर्जर पक्राउ

मुम्बई, असोज ५ –
टेलिभिजन शृङ्खला ‘महाभारत’ मा भीमको भूमिका निभाएका अभिनेता तथा डब्लुडब्लुई रेसलर सौरव गुर्जरलाई विवाहको प्रलोभन देखाएर महिला उत्पीडन गरेको आरोपमा हैदराबाद पुलिसले नियन्त्रणमा लिएको छ।
मुम्बई विमानस्थलबाट पक्राउ परेका उनलाई कानुनी प्रक्रिया पूरा गरी १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।
एक महिलाले सौरवले विवाहको बाचा गरेर आफूसँग लिभ-इनमा बसेको र अमेरिकाको जागिरसमेत छुटाएको आरोप लगाएकी छन्। विवाहको कुरा उठाउँदा सौरवले फोन नम्बर ब्लक गर्ने र टाढा भागिने गरेको महिलाको दाबी छ।
२९ वर्षीया पीडित महिलाका अनुसार सन् २०२१ मा इन्स्टाग्राममार्फत उनीहरूको भेट भएको थियो। त्यसपछि ह्वाट्सएपमा कुराकानी हुँदै जाँदा उनीहरू नजिकिएका थिए। सन् २०२१ डिसेम्बर २५ मा पहिलो पटक भेट हुँदा सौरवले विवाह गरेर श्रीमतीको दर्जा दिने बाचा गरेका थिए। त्यसपछि उनीहरू अमेरिका र भारत दुवै ठाउँमा सँगै बस्न थालेका थिए।
सौरवकै भनाइमा लागेर आफूले अमेरिकाको जागिर छाडेको महिलाले बताएकी छन्। दुवै मिलेर नयाँ व्यापार सुरु गर्ने बाचा उनले गरेका थिए। लगातारको मानसिक उत्पीडनका कारण आफ्नो करियरमा ध्यान दिन नसकेको र विवाहको कुरा गर्दा सौरवले नम्बर ब्लक गरेर सम्पर्कविहीन हुने गरेको आरोप महिलाको छ।
अक्टोबर २०२५ देखि मार्च २०२६ सम्म दुवै जना हैदराबादमा सँगै बसिरहेका थिए। यसैबिच सौरव कुनै जानकारी नदिई अचानक गायब भएपछि पीडितले प्रहरीमा उजुरी दर्ता गराएकी हुन्। उजुरीपछि गछीबोउली प्रहरीले अनुसन्धान अघि बढाउँदै सौरवलाई मुम्बई विमानस्थलबाट नियन्त्रणमा लिएको हो।
सौरव गुर्जरले सन् २०१३ मा प्रसारण भएको ‘महाभारत’ सिरियलबाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि सन् २०१६ देखि २०१७ सम्म उनले ‘संकटमोचन महाबली हनुमान’ मा रावण र बालीसमेतको भूमिका निभाएका थिए। सन् २०२२ मा फिल्म ‘ब्रह्मास्त्र’ बाट बलिउडमा प्रवेश गरेका उनले फेब्रुअरी २०२५ मा ‘शिव शक्ति -तप त्याग ताण्डव’ शोमार्फत टेलिभिजनमा पुनरागमन गरेका थिए। एजेन्सी
























