कृषि
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

सुनसरी, असोज १ –
सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा हुनुहुन्थ्यो–बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उहाँले यसलाई अङ्गाल्नुभयो । द्विविधामा शुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्न गरेको सफलताको कथा गौरवका साथ सुनाउनुहुन्छ ।
विसं २०६२ देखि २०६९ सालसम्म सशस्त्र प्रहरीमा सेवा गर्नुभएका चन्द्रवंशीले जागिर छाडेपछि आफैँ गाडी खरिद गरी चलाउनुभयो । त्यसबाट पनि सोचेअनुसार आम्दानी नभएपछि २०७५ मा रोजगारीका लागि कुवेत जानुभयो ।
खाडीको घाम सहेर फर्केपछि उहाँले २०७७ सालमा कृषि पेसा गर्ने सोच राख्नुभयो । रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएका उहाँले अहिले करिब चार बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहनु भएको छ ।
“पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो । थोरै खेतीमा धान र मकै लगाइन्थ्यो, खानका लागि पुग्थ्यो तर नगद पैसा हात पर्दैनथ्यो,” चन्द्रवंशीले भन्नुभयो, “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।”
हाल दैनिकजसो तरकारी बिक्री हुने भएकाले आम्दानी पनि नियमित हुने गरेको उहाँले बताउनुभयो । करिब अढाई बिगाहामा गोलभेँडा खेती गर्नुभएका उहाँले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खोर्सानीलगायत मौसम अनुसारका तरकारी लगाउनुभएको छ ।
मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइ तथा मलपानीको उचित व्यवस्थापन गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
“अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”
आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उहाँले बताउनुभयो । “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु भने बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु,” उहाँले भन्नुभयो ।
उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था नरहेको चन्द्रवंशी बताउनुहुन्छ । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी, इनरुवालगायत स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उहाँको भनाइ छ ।
उहाँको खेतीमा वर्षभरि ज्यालादारीमा १२ जनाले काम पाएका छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
“श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरी जिल्लाबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु,” उहाँले भन्नुभयो ।
तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिगाहा क्षेत्रफलमा मकै खेती गर्दै आउनुभएको छ । मकै बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।
कृषिबाट भएको आम्दानीले उहाँले प्रकाशपुरमा पाँच कट्ठा जग्गा खरिद गर्नुभएको छ । उहाँका एक छोरा र तीन छोरी स्थानीय निजी विद्यालयमा अध्ययनरत छन् । “अहिले गाउँमै राम्रो कमाई भइरहेको छ । गाउँमै रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । अहिले गाउँमा राम्रो व्यवसायी भनेर नाम र दाम दुवै कमाएको छु,” उहाँले भन्नुभयो ।
चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आउनुभएका सप्तरीका राजकुमार भन्नुहुन्छ, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु ।”
“यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशको कमाइले आफैँलाई खर्च पुयाउन गाह्रो हुन्छ । नेपालको कमाइ थोरै भए पनि सबै बचत गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।रासस
























