देश/प्रदेश

काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्’-हरिवंश आचार्य

Banner

काठमाडौँ, भदौ २८-

वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभएको छ ।

आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो । फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उहाँको भनाइ छ । आचार्यले काठमाडौंलाई देवताहरूको शहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाई र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताउनु भयो । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले नेपाल र काठमाडौंको प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ ।

‘काठमाडौं अहिले कति सफा र सुन्दर देखिएको छ, यसबाट हामीले सिक्नुपर्छ’ भन्ने आशयका सामग्री भारतीय युट्युबमा हेर्न पाएको उल्लेख गर्दै आचार्यले त्यसले नेपालीको गौरव बढाएको बताउनु भयो । उहाँनले काठमाडौं महानगरपालिकामा पछिल्लो समय भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाई र सुन्दरतामा थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘करिव ५० वर्षअघिदेखि नै महानगर बिग्रिन शुरु भएको हो । तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन् । ठाउँ–ठाउँमा फल्चा निर्माण भएका छन् । हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ ।

देवतैदेवताले भरिएको काठमाडौं महानगरपालिकालाई हामी यहाँका नागरिकले पनि देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्छ । केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंबारे बनाएको एउटा कार्यक्रम हेरेँ । उनीहरूले काठमाडौँ अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन् । त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ ।’

आचार्यले महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भुमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>