देश/प्रदेश

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

Banner

काठमाडौँ, भदौ २३-

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

‘जेनजी’ आन्दोलनको एक वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जालमार्फत उहाँले निर्दोष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री कार्कीले आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनु परेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन ।”

पूर्वप्रधानमन्त्री कार्कीले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको विषय स्मरण गराउनुभएको छ ।

“राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु”, उहाँले भन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहिद भएका सम्पूर्ण योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै अहिले मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री कार्कीले बाढीबाट भएको पीडाको यस दुःखद् घडीमा अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन तथा एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैमा आग्रह गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>