खेलकुद
चितवन गोल्डकप भदौ २७ देखि, खेल तालिका सार्वजनिक

चितवन, भदौ २२–
चितवन गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यहीँ भदौ २७ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
भरतपुर फुटबल क्लब (बीएफसी) को आयोजनामा हुने प्रतियोगिता भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका विभिन्न क्लब तथा विदेशी दुई टोलीसहित आठ टोलीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा हानामी बीएफसी, पाक्साम भुटान, देवदह रुपन्देही, रेड हर्स इलाम, एप्पल गुरु सूर्यपुर एफसी, सातदोबाटो युथ क्लब, मलेसियाको एन पेङ एफसी र एपीएफ काठमाडौं सहभागी हुनेछन् ।
आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आयोजक हानामी बीएफसी र पाक्साम भुटान भिड्नेछन् भने सोही समूहको अर्को खेलमा देवदह रुपन्देही र रेड हर्स इलाम आमनेसामने हुनेछन् । अर्को समूहमा एप्पल गुरु सूर्यपुर एफसी र सातदोबाटो युथ क्लब तथा एन पेङ मलेसिया र एपीएफ काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र प्लेयर अफ दि म्याचलाई केलमी चितवनको तर्फबाट ५ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक धुर्व भुषालले जानकारी दिए ।
खेल हेर्न मैदानमै पुग्ने दर्शकका लागि सेमिफाइनलसम्म १०० रुपैयाँ र फाइनलका लागि २०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । यसबाट कम्तीमा २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको संयोजक भुषालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ५४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चितवन गोल्डकपको पहिलो संस्करण २०७९ र दोस्रो संस्करण २०८१ मा आयोजना गरिएको थियो । यसअघि तेस्रो संस्करण गत वर्ष आयोजना गर्ने तयारी भए पनि विभिन्न परिस्थितिका कारण स्थगित भएको आयोजकको भनाइ छ ।
आयोजक भरतपुर फुटबल क्लबले चितवनमा फुटबलको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ । क्लबले प्रतियोगितामार्फत चितवनको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।























