Breaking News
बाढीको ११औँ दिनमा चमत्कारः नुवाकोटमा वृद्ध महिला र रसुवामा चिनियाँ नागरिक जीवितै उद्धार

काठमाडौं, भदौ २० –
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा फसेकी नुवाकोटकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि सकुशल उद्धार गरिएको छ । बाढी प्रभावित विदुर नगरपालिका–१०, वेत्रावतीस्थित आफ्नै घरको चौथो तलाबाट श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बल, १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वको टोलीले श्रेष्ठको उद्धार गरेको हो ।
गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढी प्रभावित बस्तीमा घरभित्र रहेका सामग्री हटाउन तथा सहयोग गर्न पुगेको उद्धार टोलीले घरभित्रबाट महिलाको आवाज सुनेपछि तत्काल खोजी गरेको थियो । खोजीका क्रममा चन्द्रिका हिलोमा गाडिएको अवस्थामा फेला परेकी थिइन् ।
उद्धारपछि श्रेष्ठलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
यसैबीच, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विशेषज्ञ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट ती चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो । बाढीपछि आयोजनाका विभिन्न संरचनामा क्षति पुग्नुका साथै केही व्यक्ति सुरुङभित्र फसेका थिए ।
बाढी आएको ११औँ दिनमा नुवाकोटमा ६४ वर्षीया महिला र रसुवामा एक चिनियाँ नागरिकको जीवितै उद्धार भएपछि अझै पनि प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धारको सम्भावना जीवित रहेको देखिएको छ ।

























