मकवानपुर
हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हिमालयन राइडर्स

बागमती, भदौ १८ –
हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले बागमती प्रदेशको राजधानी हेटौँडालाई साइकलको सहर (साइकल सिटी) का रूपमा विकास गर्ने लक्ष्य अनुुरुप अभियान अघि बढाएको छ ।
विसं २०७८ देखि संस्थागत रूपमा स्थापना भएसँगै संस्थाकै पहल एवम् सरोकारवाला निकायसँगको सहकार्यमा हेटौँडाको बुद्ध चोकबाट चारैतर्फको करिब एक÷एक किलोमिटर दूरीमा साइकल ‘लेन’ बनिसकेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार बुद्धचोकबाट कान्ति लोकपथ, कर्रा जाने मार्ग, चौकी टोल जाने मार्ग र राप्ती रोड जाने मार्गमा साइकल लेन बनिसकेको छ । आफूहरूले हेटौँडालाई साइकल सिटीका रूपमा विकास गर्नुपर्छ भन्ने लक्ष्यका साथ अभियानकै रूपमा पहल गरिररहेको बताउनुभयो ।
“यहाँ बन्ने सडक साइकल लेनसहितका हुनुपर्छ भन्ने तर्फ हामी सम्बद्ध निकायसँग पहल बढाएका छौँ,” उहाँले भन्नुुभयो, “साइकल लेन सहरको सौन्दर्यीकरणसँगै साइक्लिङको आकर्षण अभिवृद्धिका लागि अपरिहार्य छ ।”
स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै हेटौँडासहित देशका विभिन्न गन्तव्यको प्रवद्र्धन गरिरहेको संस्थामा हाल १० देखि ७३ वर्ष उमेर समूहसम्मका साइकलयात्री गरी १६० जनाभन्दा बढी व्यक्ति साधारण एवम् आजीवन सदस्यका रूपमा आबद्ध रहनुभएको छ ।
उहाँका अनुसार पर्यावरणको रक्षाका लागि संस्थाकै पहलमा हेटौँडा र आसपासका विभिन्न गन्तव्यमा वृक्षरोपण गरिँदै आइएको छ ।
संस्थाले समाजिक उत्तरदायित्वअन्तर्गत समयसमयमा रक्तदान, आँखादान, निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुुभयो । रासस

























