चितवन विशेष
रसुवागढी, टिमुरे लगायतका बाढी प्रभावित क्षेत्रका लागि फेन्सी व्यवसायी महासंघको राहत संकलन अभियान

चितवन, भदौ १५-
मिति २०८३/०५/१० गते रसुवागढी, टिमुरे, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा भएको अकल्पनीय तथा त्रासदीपूर्ण घटनाबाट भएको धनजनको क्षतिप्रति फेन्सी व्यवसायी महासंघ नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले घटनामा घाइते भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको आवश्यक उपचार तथा उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ। साथै, घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षति सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामना गरेको छ।
यसैबीच, फेन्सी व्यवसायी महासंघ नेपालले प्रभावित क्षेत्रका पीडित परिवारका लागि विभिन्न जिल्लामा राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत आज फेन्सी व्यवसायी संघ चितवनले पनि राहत संकलन अभियान सुरु गर्ने भएको छ।
संघले सम्पूर्ण फेन्सी व्यवसायी सदस्य, शुभेच्छुक तथा सहयोगी दाताहरूलाई मानवीय सेवाको यस अभियानमा आफ्नो क्षमताअनुसार सहयोग गरी सहभागी हुन हार्दिक अपिल गरेको छ।
संकलित राहत सामग्री तथा सहयोगलाई फेन्सी व्यवसायी महासंघ नेपालको मातहतमा समन्वय गरी प्रत्यक्ष प्रभावित क्षेत्रका पीडितहरूमाझ वितरण गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ। महासंघले राहत वितरणका क्रममा प्रभावित क्षेत्रमै पुगेर स्थानीय तह तथा सम्बन्धित पक्षसँग आवश्यक सहकार्य गर्दै वास्तविक पीडितसम्म राहत पुर्याउने जनाएको छ।
फेन्सि व्यवसायि महासंघ नेपालका अध्यक्ष तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष श्री रामप्रसाद पौडेलज्यूले मानवीय विपत्तिको यस घडीमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै सम्पूर्ण फेन्सी व्यवसायी तथा सहयोगी दाताहरूलाई राहत संकलन अभियानमा सहभागी हुन आग्रह गर्नुभएको जानकारी दिनुभयो।
उहाँले राहत संकलनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै प्रत्यक्ष प्रभावित क्षेत्रका वास्तविक पीडितहरूको आवश्यकता पहिचान गरी महासंघकै समन्वयमा राहत पुर्याइने बताउनुभयो।
फेन्सी व्यवसायी महासंघ नेपालले देशभरका फेन्सी व्यवसायीहरूलाई एकजुट गर्दै विपद्मा परेका नागरिकको सहयोगका लागि अघि बढ्ने जनाएको छ।



























