चितवन विशेष
गौरीगञ्ज युवा भजन समूहद्वारा भजनबाट संकलित १६ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

चितवन, भदौ १४-
गौरीगञ्ज युवा भजन समूहले भजन–कीर्तन तथा सत्संगमार्फत संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा सहभागी सहयोगी मनहरूबाट रु.१६ हजार १६० रकम संकलन भएको थियो। समूहले उक्त रकम तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी विपद्मा परेका नागरिकलाई सहयोग गर्ने अभियानमा ऐक्यबद्धता जनाएको हो।
रेक शनिबार नियमित रूपमा भजन गर्दै आएको गौरीगञ्ज युवा भजन समूहले यसै क्रममा २०८३ साल भदौ १३ गते भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित श्री कृष्ण आध्यात्मिक प्रतिष्ठानको प्रांगणमा भजन, कीर्तन तथा सत्संग कार्यक्रम आयोजना गरेको थियो।
धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै भजनबाट संकलित रकम विपद् उद्धारका लागि प्रदान गर्नु उदाहरणीय कार्य भएको स्थानीयले बताएका छन्।
सामाजिक सेवाप्रतिको जिम्मेवारी बहन गर्दै मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको भन्दै गौरीगन्ज युवा भजन समूहप्रति आयोजक तथा स्थानीय समुदायले हार्दिक आभार र धन्यवाद व्यक्त गरेका छन्।

























