देश/प्रदेश

विपद्मा कलाकारको हातेमालो

Banner

गण्डकी, भदौ १४-

केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुभएकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गर्नुभयो ।

गायक दुर्गेश थापा बाढीको घटनालगत्तै लत्ताकपडा, सिरक–डसनासहितका राहत सामग्री लिएर नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो । गायक तथा अभिनेता प्रकाश सपूतले गत बिहीबार गलबन्दी प्रोडक्सन र गलबन्दी फाउण्डेशनका तर्फबाट रु एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गर्नुभयो । यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीपछि स्वतःस्र्फूत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ । यसमा अभियानमा कलाकारहरुले पनि हातेमालो गरिरहेका छन् ।

गायक प्रकाश सपूतले सङ्कटको घडीमा नेपाल र नेपालीको सह–अस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्नुपर्ने बताउनुभयो । विपद्को कठिन घडीमा प्रभावित नागरिक र देशको साथमा एक्यबद्धतापूर्व उभिनु कलाकारको पनि दायित्व भएको उहाँको भनाइ छ । गायक दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रका नागरिकको पीडा असह्य खालको रहेको सुनाउनुभयो ।

बाढीमा अभिभावक गुमाएका बालबालिकाको अवस्था देख्दा आफूले मन थाम्न नसकेको उहाँले बताउनुभयो । बाढी प्रभावितका लागि सानो स्तरमा भए पनि राहत पुगोस् भनेर आफू अत्यावश्यक सहायता सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको गायक थापाको भनाइ छ । गायिका समीक्षा अधिकारीले बाढी प्रभावितको पीडामा साथ दिने प्रयास गरेको उल्लेख गर्नुभयो । सहयोग सानो वा ठूलो भन्दापनि दुःखका बेला कसैको साथमा उभिन सक्नु नै सबैभन्दा महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

गायिका रचना रिमालले पनि आफ्नो तर्फबाट यथोचित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । देशवासीको दुःख र पीडामा सकेको साथ दिनुपर्छ भन्ने भावनासहित आफूले सक्दो सहयोग गरेको उहाँले उल्लेख गर्नुभएको छ । व्यक्तिगत रुपमा मात्र नभई कलाकार सम्बद्ध विभिन्न सङ्घसंस्था पनि विपद्मा सहारा बनिरहेका छन् ।

बागलुङ कलाकार समाजले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७५ हजार पाँच सय ५५ सहयोग गरेको समाजका अध्यक्ष एवं गायक वसन्त थापाले जानकारी दिनुभयो । तीजको सम्मुखमा देशले व्यहोरिरहेको महाविपत्तिमा कतिपय कलाकारले देशविदेशमा हुने तीज विशेष साङ्गीतिक कार्यक्रम स्थगन गरेका छन् ।

सामूहिक दरखानेलगायत तीजका मनोरञ्जनात्मक कार्यक्रम स्थगन गरी तिनमा हुने आर्थिक खर्चलाई बाढी प्रभावितको सहयोगार्थ पठाउने क्रम बढ्दो छ । प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि सङ्कलित रु एक लाख बाढी प्रभावित राहतमा खर्च गरेको छ । समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो ।

भोटेकोशी–त्रिशूलीको बाढीले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिले यतिबेला सिङ्गो मुलुकक नै आक्रान्त छ । बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देश, विदेशबाट स्वतःस्र्फुत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ । सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ । सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>