देश/प्रदेश

विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराउने काँग्रेसको निर्णय, सार्वजनिक उत्सव नमनाउन सभापति थापाको निर्देशन

Banner

काठमाडौँ, भदौ १४-

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मुलुकमा निम्तिएको बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पदाधिकारी, केन्द्रिय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा सभापति गगनकुमार थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको बताउनु भयो । उहाँले सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पार्नुभयो । सभापति थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताउनु भयो । उहाँले विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वभाविक भएको उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै थापाले संघीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो । स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उहाँको तर्क छ । मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनैपनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिनुभयो । अबको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सोमवारदेखि सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने भएको छ । फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिइने उहाँले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>