Breaking News
भोटेकोसीमा फेरि बाढीको जोखिम, चीनतर्फ बनेको ताल फुट्ने खतरा

काठमाडौं, भदौ १२ –
चीनको तिब्बततर्फबाट बुधबार (भदौ १०) बिहान रसुवाको भोटेकोसी नदी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले ठूलो जनधनको क्षति गरिसकेको छ । तर, जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ । त्यो ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको महाशाखाले जनाएको छ ।
“चीन सरकारबाट प्राप्त सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणानुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको,” महाशाखाले भनेको छ ।
अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । “अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ,” महाशाखाले भनेको छ ।
हाल भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउनुपर्ने भन्दै महाशाखाले सचेत गराएको छ ।
भदौ १० गते बिहान नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा खसेको हिम–चट्टान पहिरोका कारण तिब्बतको ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको जनाइएको छ । त्यो बाढी भोटेकोसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको थियो ।
“स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सिमानामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ ।
यता, वर्षासँगै आज (भदौ १२) देशका केही जिल्लामा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस दिन पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । एजेन्सी
























