Breaking News
यो कठिन घडीमा बाढीपीडित एक्लो छैनन्, सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छः प्रधानमन्त्री

काठमाडौं, भदौ १०-
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई यस कठिन परिस्थितिमा एक्लो महसुस नगर्न आग्रह गर्दै उनीहरूको उद्धार, निःशुल्क उपचार, खानपिन र दीर्घकालीन पुनःस्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन्।
बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नागरिकको ज्यान जोगाउनु र प्रभावितलाई सुरक्षा दिनु नै सरकारको पहिलो प्राथमिकता भएको बताए।
घाइतेहरूको उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या पूर्ण रूपमा निःशुल्क व्यवस्था गरिएको जानकारी दिँदै उनले उपत्यकाका अन्य ठूला अस्पताललाई पनि तयारी अवस्थामा राखिएको बताए।
प्रभावित क्षेत्रमै आकस्मिक स्वास्थ्य सेवा पुर्याउन ट्रमा सेन्टर, सुरक्षा निकाय, नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली औषधि उपकरणसहित फिल्डमा खटाइसकिएको छ।
बाढीका कारण भत्किएका सडक, पक्की पुल, बिजुली र खानेपानीका संरचनाहरू प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई चाँडोभन्दा चाँडो पुरानै लयमा फर्काउने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे।
रसुवा, नुवाकोट, धादिङ र गोरखाका सबैभन्दा बढी प्रभावित पालिकाहरूमा खाद्यान्न, शुद्ध पिउने पानी र अस्थायी आवासको प्रबन्ध तुरुन्त मिलाइएको बताउँदै उनले रातभर पनि खोजी तथा उद्धार कार्य नरोकिने बताए।
संकटको यस घडीमा उच्च राष्ट्रिय एकताको खाँचो औंल्याउँदै प्रधानमन्त्री शाहले पीडित नागरिकलाई सामान्य जीवनमा फर्काउने राज्यको अभियानमा साथ दिन निजी क्षेत्र, उद्योगी(व्यवसायी, युवा स्वयंसेवक र नागरिक समाजलाई अपिल गरेका छन्।

























