राजनीति
नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपति

काठमाडौं,भदौ ९ –
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन् ।
भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको उद्घाटनमा बोल्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘नाडा अटो शो एउटा व्यापारी मोला वा प्रर्दशनिमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता, आर्थिक रूपान्तरणको निमित्त सशक्त मार्गचित्र बन्नसक्छ ।’
उनले अटोमोबाइल क्षेत्रको विकासका लागि नयाँ प्रविधि, विद्युतीय सवारी साधन, अटो पाट्र्सलगायतका सेवाहरूलाई एउटै छातामुनि प्रस्तुत गर्दै उपभोक्तासम्म पु¥याउने नाडाको प्रयास सकारात्मक रहेको बताए ।
उपराष्ट्रपति यादवले अटो शोमार्फत उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए ।
‘नाडाले यस्तो प्रदर्शनीबाट सहकार्यको वातावरण निर्माण गर्दै उपभोक्ता, उद्योगपति, प्रविधि, विकास कर्ता र नीति निर्माता बिच प्रत्यक्ष संवाद सम्यूनय र सहकार्यको सुढृड वातावरण निर्माण गर्न सक्नु पर्दछ,’ उनले भने, ‘नेपाली अटो मोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय सुरक्षा मापदण्डलाई नेपालमा प्रवर्धन गर्नु नाडाको उपलब्ध उद्देश्य हुनु पर्दछ ।’
उनका अनुसार नेपालमा अटोमोबाइल क्षेत्रको विस्तारसँगै उत्पादन, प्रविधि, रोजगारी र लगानीका अवसर बढाउन आवश्यक छ । स्वदेशमै सवारी साधन उत्पादनको वातावरण निर्माण गर्न सके मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
त्यस्तै, यादवले इन्धन आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न विद्युतीय सवारी साधन ९ईभी० को प्रयोग बढाउनुपर्नेमा पनि जोड दिए । यादवले विद्युतीय सवारीको प्रयोग नै देशका लागि सबैभन्दा बुद्धिमानी र दिगो उपाय भएको बताए ।
नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेको सन्दर्भ जोड्दै उनले पेट्रोल र डिजेल जस्ता इन्धन आयातमा हुने निर्भरता घटाउनुपर्ने बताए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु मंगलबारबाट सुरु भएको हो । उपराष्ट्रपति यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।
‘काठमाडौंमा अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्ने पूर्वाधार छैन’
सो अवसरमा बोल्दै नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले काठमाडौँमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको गुनासो गरे ।
भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, उनले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।अध्यक्ष उप्रेतीले सवारी साधन अब विलासिताको वस्तु मात्र नभएर नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताए।
‘सवारी साधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा मात्र हेरिने दृष्टिकोणमा पुनरावलोकन गरिनुपर्छ। आज यो क्षेत्र १० लाखभन्दा बढीको रोजगारी र वार्षिक ९० अर्बभन्दा बढी राजस्वको स्रोत मात्र होइन, आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य कडी पनि हो,’ उनले भने । न्यूज बैंक

























