Breaking News
माडी शिक्षक छनोट विवादः पालिकाले आफै सच्याएको थियो त्रुटि,अनावश्यक रुपमा विवादित बनाउँदै थाकस

चितवन, भदौ ७-
चितवनको माडी नगरपालिका–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक नियुक्ति प्रक्रियामा देखिएको विषयलाई अनावश्यक रुपमा विवादित बनाएर पठनपाठन अबरुद्ध पार्ने काम भएको छ । गत साउन ११ गते परीक्षा सञ्चालन गर्ने क्रममा भएको प्रक्रियागत त्रुटिलाई नगरपालिकाले आफै सार्वजनिक गरेर स्वीकार गरेको छ । नगरपालिकाले त्रुटि सच्याएर पुनः परीक्षा लिने तयारी गरिरहँदा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ ले विरोध गर्न छाडेको छैन । जहाँ थाकस स्वयमले पनि ‘लिखित परीक्षाको प्राप्ताङ्कमा त्रुटि भएको’ बताएको छ ।
त्रुटि भएको भनि गुनासो गर्ने परीक्षार्थी पनि पुनः परीक्षामा सामेल हुन तयार भइसकेका छन् । परीक्षाको नतिजा त्रुटिपूर्ण रहेको भनि परीक्षार्थी निरज महतोले सुरुमा थाकसमा निवेदन दिएको बताए । नगरपालिकाले त्रुटि भएको स्वीकार गरी पुनः परीक्षा गर्ने भएपछि यसमा सकारात्मक हुनुपर्ने उनको भनाई छ ।
‘परीक्षा फेरि हुन्छ भने त दिनुपयो नी । विद्यालयमा पनि बालबच्चाको कोर्स छुटेको एक महिना नै भइसकेको छ’, परीक्षार्थी महतो भन्छन्, ‘त्रुटि भएको भनेर मैले नै निवेदन दिएको हो तर अब फेरि परीक्षा लिने भनेपछि त हामी सबैजना पोजिटिभ हुनुपर्छ । जस्तोसुकै रिजल्ट आओस् पुनः परीक्षामा सहभागी हुन म तयार छु ।’ विद्यालयले करार शिक्षकको लागि सोमबार पुनः परीक्षा लिँदैछ । त्रुटि भइसकेपछि सच्याउने काम गर्दा पनि थाकसले निरन्तर विरोध गरिरहनुले शंका उब्जिएको छ । थाकसले गत शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी त्रुटि गर्ने कर्मचारीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेको थियो । कारबाही प्रक्रिया अनुसार त्रुटि गर्ने कर्मचारीलाई पनि स्पष्टिकरण सोध्ने काम भइसकेको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले बताइन् ।
उनले परीक्षा प्रक्रियामा भएको त्रुटि कुनै बदनियत वा नियतवश नभई मानवीय प्राविधिक भूल भएको भन्दै कार्यपालिकाको निर्णयअनुसार पुनः परीक्षा सञ्चालन गरेर समस्याको समाधान खोजिने बताएकी हुन् । नगर प्रमुख महतोका अनुसार परीक्षा सञ्चालनका क्रममा खटिएका विषय विज्ञ तथा कर्मचारीहरूबाट परीक्षार्थीको ‘कोडिङ’ गर्दा प्राविधिक त्रुटि हुन पुगेको थियो । ‘१, २, ३ वा क, ख, ग लेख्ने क्रममा एउटा परीक्षार्थीको कोड अर्कोसँग जुध्न गएपछि मिस्टेक भएको रहेछ’, महतोले भनिन्, ‘कुनै नतिजा प्रकाशन भई नियुक्ति दिइसकेको अवस्था थिएन । गल्ती भएको थाहा पाउनासाथ खटिएका कर्मचारी र विषय विज्ञहरू आफैंले त्रुटि स्वीकार गरी उत्तरपुस्तिका परीक्षण रोकेर परीक्षा स्थगित र रद्द गर्नुभएको हो ।’
कार्यपालिका बैठकमा परीक्षा गतिविधि र सबै विवरणबारे गहन छलफल भएको जानकारी दिँदै नगर प्रमुखले भनिन्, ‘छानबिन र छलफलबाट यो घटना नियतवश नभई विशुद्ध मानवीय त्रुटि भएको पुष्टि भएको छ । त्यसैले अहिलेको मौजुदा सङ्घीय कानुन र निर्देशिकालाई टेकेर पुनः लिखित परीक्षा लिने निर्णय कार्यपालिकाले गरिसकेको छ ।’ उनका अनुसार परीक्षामा सहभागी भएका सम्पूर्ण तीनै जना परीक्षार्थीहरूलाई वस्तुस्थितिबारे जानकारी गराइसकिएको र उनीहरू पुनः परीक्षा दिन तयार रहेका छन् । यसपटक विषय विज्ञ तथा परीक्षामा खटिने कर्मचारीहरू परिवर्तन गरिने नगर प्रमुख महतोले स्पष्ट पारिन् ।
त्यस्तै, त्रुटि गर्ने कर्मचारीलाई कारबाही गर्ने निर्णयबारे बोल्दै उनले प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले सम्बन्धित कर्मचारीहरूसँग लिखित स्पष्टीकरण सोधिसकेको र आगामी दिनमा जिम्मेवार कर्मचारीहरूलाई मात्र यस्ता संवेदनशील प्रक्रियामा खटाइने जानकारी दिइन् । ‘गल्ती महसुस गरी बेलैमा सच्याएर पुनः निष्पक्ष परीक्षा गराउनु नै सबैभन्दा उपयुक्त बाटो हो’, नगर प्रमुख महतोले भनिन् । यसै विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाउन र छानबिन प्रतिवेदन नआउँदासम्म दैनिक प्रशासनिक कामकाज निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट गराउने निर्णय भएपछि विवाद थप चर्किएको थियो । उपमेयर खेमप्रसाद महतोको संयोजकत्वमा गठित ५ सदस्यीय समितिबाट बहुमत ३ सदस्यले राजीनामा दिएपछि समितिको वैधानिकतामाथि पनि प्रश्न उठेको थियो ।

























