देश/प्रदेश

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल

Banner

सुदूरपश्चिम, भदौ ६-

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो । मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले ६०० दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो । मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि आवश्यक स्रोतसाधन, जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिनुभयो । मन्त्री रावल कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>