राजनीति
सच्याउने भन्दै देउवाको रिट सर्वोच्चबाट फिर्ता

काठमाडौं, भदौ ५-
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ ।
सर्वोच्चमा पेस भएको रिट ‘करेक्सन’ का लागि भन्दै फिर्ता लगिएको हो । देउवाले शुक्रबार दिउँसो वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेका थिए । सर्वोच्च अदालत प्रशासनले भने अध्ययनकै क्रममा विचाराधीन अवस्थामा राखेको थियो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले साँझमा देउवाका वारेस आएर रिट फिर्ता लगेको जानकारी दिए । ‘‘रिट अध्ययनकैक्रममा थियो, उहाँहरू कार्यालय समय सकिने बेला साँझमा आएर करेक्सन गर्न लैजान्छौँ भन्दै लिएर जानुभयो । सोमबार करेक्सन गरेर ल्याउने कुरा गर्नुभएको थियो,’’ प्रवक्ता कोइरालाले बाह्रखरीसँग भने ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले असोजमा पार्टीको महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरिसकेको छ । उक्त महाधिवेशन रोक्नुपर्ने मागसहित नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वारेसमार्फत सर्वोच्च प्रशासनमा रिट पेस गरेका थिए ।

























