देश/प्रदेश

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

Banner

कर्णाली, भदौ ५-

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ को शुभारम्भ गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम, प्रदेश कार्यक्रम सहयोग ईकाई वीरेन्द्रनगर सुर्खेतद्वारा आज आयोजित यातायात व्यवस्था कार्यालय सुर्खेतको ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ को मुख्यमन्त्री शाहीले शुभारम्भ गर्दै प्रदेश सरकारले अब नागरिकको सहज र पारदर्शिताका लागि अनलाइन सेवा गरिएको बताउनुभयो ।

“अब पहुँच, भनसुन र शक्तिका भरमा कसैले काम गर्न पाउँदैन र विचौलिया प्रवृत्ति पनि अन्त्य भएर जानेछ,” उहाँले भन्नुभयो, “हरेक सेवाग्राहीहरूले टोकन प्रणालीबाट आफ्नो सेवा लिनेछन् । पछाडि आएकाले अगाडि घुस्न र लाइनमा बस्नुपर्ने छैन । सुर्खेतबाट आरम्भ गरिएको यो सेवा प्रदेशका अन्य जिल्ला कार्यालयमा विस्तार गरिनेछ ।” सेवालाई प्रभावकारी, स्रोत सम्पन्न र दिगो बनाउने प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका प्रमुखसचिव राधिका अर्यालले यातायात व्यवस्था कार्यालयबाट प्रवाह गरिने सेवालाई चुस्त र पारदर्शी बनाउन अनलाइन प्रणालीमा जोड दिइएको बताउनुभयो । बदलिँदो युगसँगै नागरिक सेवालाई प्रविधिमैत्री बनाई यस्ता सिकाइ र अभ्यास अन्य कार्यालयमा पनि लागू गर्न आवश्यक रहेको उहाँका भनाइ थियो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ प्रारम्भ गरिएको बताउनुभयो । सेवालाई दिगोपन दिन र सेवाग्राहीलाई पनि नेटको पहुँचमा राखेर आफ्नो कामको बारेमा जानकारी लिन सहज हुने वातावरण तयार गरिने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री कार्यालयका सचिव लक्ष्मीकुमार विकले सेवाग्राहीलाई सन्तुष्ट गराउन सकिएमात्र सेवाको प्रभावकारिता बढेको तथा कार्यक्रम सफल छ भन्ने बुझिने जनाउनुभयो ।

त्यसैगरी, यातायात व्यवस्था कार्यालय सर्खेतका कार्यालय प्रमुख मुकुन्दनाथ योगीले प्रदेश सरकारको नवप्रवर्तन र प्रविधिमैत्री औजारको प्रयोगबाट सुशासन र व्यवस्थापन गरिने भन्ने नीतिलाई सुरुमा यातायात कार्यालयले लागू गरेको जिकिर गर्नुभयो । सुशासनका लागि लामो समयदेखि काम गर्दै आएको कार्यालयले सेवाग्रहीका गुनासो अब धेरै सुन्न नपर्ने उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>