चितवन विशेष
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै चितवनका ५० महिला

नारायणगढ(चितवन),भदौ ३ –
बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन् ।
स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायबाट दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो ।
रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दूधको विविधिकरण डेरी पसल सञ्चालन गर्नुभएको छ । स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिनुभयो ।
पसलमा दूध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफीलगायतका परिकार बिक्रीका लागि राखिएको छ । हाल मही, दूध, दही, घिउ, पनिर र खुवालगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेको छ ।
“मैले चार–पाँच वर्षदेखि डेरी सञ्चालन गर्दै आएकी थिएँ । त्यसबाट राम्रो आम्दानी भयो । त्यसपछि यहाँका अन्य महिला दिदीबहिनीलाई रोजगारी र उद्यममा जोड्ने उद्देश्यले सामूहिक पसल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्षले भन्नुभयो ।
उद्योग स्थापनाका लागि प्रदेश सरकारबाट रु १० लाख अनुदान प्राप्त भएको छ । बाँकी रकम ५० जना सेयर सदस्यबाट प्रतिव्यक्ति रु २५ हजारका दरले रु १२ लाख ५० हजार सङ्कलन गरी लगानी जुटाइ उद्योग सञ्चालन गरिएको हो ।
हाल दैनिक करिब २०० लिटर दूध सङ्कलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री हुँदै आएको छ । मागअनुसार उत्पादन क्षमता विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
समूहमा आबद्ध केही महिलाले आफ्नै घरमा पशुपालन गर्दै आएका छन् । उनीहरूबाट दूध सङ्कलन गरी उद्योगमा प्रयोग भइरहेको र आगामी दिनमा थप महिलालाई पशुपालनमा प्रोत्साहित गर्दै समूहकै सदस्यबाट आवश्यक दूध आपूर्ति गर्ने योजना छ ।
सौराहा पर्यटकीय क्षेत्र हो । यहाँ बजारको अभाव छैन । स्थानीय महिलालाई रोजगारी दिने र स्थानीय उत्पादन पर्यटकलाई चखाउने मुख्य उद्देश्यले डेरी उद्योग सञ्चालन गरिएको बताइन्छ । रासस

























